चुनावी रणनीति बनाउन माओवादीहरु गोप्य प्रशिक्षणमा
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले कार्यकर्ता प्रशिक्षण शुरु गरेको छ । आज माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
प्रशिक्षण कार्यक्रमको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्दघाटन गर्नुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, शशी श्रेष्ठलगायतका नेताहरु सहभागी छन् ।
स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका इञ्चार्ज हितमान शाक्य र अध्यक्ष सरल सहयात्रीले प्रदेशको चुनावी रणनीतिबारे जानकारी गराउनुभएको थियो । सो क्रममा चुनाव केन्द्रित ११ बुँदे योजना सार्वजनिक गरिएको थियो । जसमा चुनावी कमान्डर तोक्नेदेखि उम्मेदवार छनोटको विधिसम्म बिस्तृतमा ब्याख्या गरिएको छ ।
प्रदेशका सबै पालिकाहरुमा माओवादीको स्थिति, अन्य पार्टीहरुको अवस्था, मत सर्वेक्षणलगायतका विषय चुनावी तयारीमा समेटिएको छ । चुनावी कार्यक्रमअन्तर्गत नै टोल कमिटीसम्मै राजनीतिक तथा बैचारिक प्रशिक्षण चलाउने पनि माओवादीको तयारी छ । प्रदेशले बनाएको चुनावी कार्यक्रमलाई केन्द्रीय कार्यक्रमसँग समन्वय गरेर एकीकृत रुपमा अघि लैजाने माओवादीको भनाइ छ ।
दिउँसो २ बजेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समितिका सदस्यहरु, प्रदेश अन्तर्गतका १३ वटै जिल्ला समन्वय समितिका सदस्यहरु, ११९ वटै पालिकाका पदाधिकारी, बागमती प्रदेशका जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
चुनावसँग संम्बन्धित कतिपय प्राविधिक विषय गोप्य राख्न भन्दै उद्धघाटनपछि पत्रकारहरुलाई कार्यक्रम हलबाट बाहिर पठाएको थियो ।
टिप्पणीहरू