बालहिंसा रोक्न विद्यालय व्यवस्थापन समिति प्रतिबद्ध
बालबालिकामाथि हिंसा हुन नदिन कपिलवस्तुमा छलफल भएको छ । युनिसेफ नेपालको सहकार्यमा कृष्णनगर नगरपालिकाले आज एक कार्यक्रमकाबीच बालबालिकामाथि हुने हिंसालगायत अनुशासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बालविवाह, लैंगिक हिंसा, मानव बेचबिखन र अनलाइन सुरक्षासम्बन्धमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल गरेको हो ।
कार्यक्रम कृष्णनगर नगरपालिका नगरप्रमुख रजतप्रताप साहको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख साहले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरूलाई आग्रह गर्नुभएको छ । उहाँले बालबालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको प्राथमिक विषय रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसाको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवारभित्र बालबालिका सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा सहजकर्ता आरटी खानले बाल संरक्षण सम्बन्धी विविध विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो । सहभागी १० विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले छलफलमा बालबालिकामाथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
टिप्पणीहरू