‘ज्याभ्लिङ थ्रो’ मा छात्रको निधन,विद्यालय १० दिन बन्द
‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रको निधन भएपछि १० दिनदेखि बन्द पाँचथरको एउटा विद्यालय बल्ल खुलेको छ । फागुन १५ गतेदेखि बन्द फालेलुङ २ को सिद्वकाली माविमा १० दिनपछि पठनपाठन शुरु भएको हो ।
फागुन १५ गते ज्याभ्लिङ थ्रोको रडले लागेर घाइते भएका १० वर्षीय छात्र अनुष राईको उपचारको क्रममा अस्पतालमा भोलिपल्ट निधन भएपछि मृतकका आफन्तले विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरवाही भन्दै आन्दोलन शुरु गरेका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प भएको थियो ।
मृतक छात्रका अविभावक,शिक्षक र जनप्रतिनिधिको भेलामा परिवारका सदस्यलाई गाउँपालिकाले १२ लाख रुपैयाँ उपलब्ध गराउने, विद्यालय परिसरमा मृतक छात्रको सालिक निर्माण गर्ने, अभिभावकलाई गाउँपालिकाले शैक्षिक योग्यताअनुसारको रोजगारी दिने तथा प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले राजीनामा दिने सहमतिपछि विद्यालय खुलेको हो ।
बन्द विद्यालय खुलाउन विभिन्न चरणमा सम्वाद गरेपछि सहमति भएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिए । केरुङका अनुसार मृतकका परिवारलाई गाउँपालिका अन्तर्गतका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले पाउने तलब–सुविधाबाट कट्टा गरेर १२ लाख रुपैयाँ राहत उपलव्ध गराइने भएको छ । मृतकका परिवारसँग यस्तो सहमति भएसँगै व्यवस्थापन समितिका अध्यक्ष फणिन्द्र बिष्टले राजिनामा दिएका छन् ।
प्रधानाध्यापक वीरेन्द्र खत्री,खेल शिक्षक वसन्त खत्री र ज्याभिलङ थ्रो प्रहार गर्ने छात्र लोकबहादुर कार्की भने प्रहरी हिरासतमा छन् ।
उनीहरुविरुद्व ज्यान सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताए ।
राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन अभ्यास गर्ने क्रममा विद्यालयको कक्षा १२ मा अध्ययनरत लोकबहादुर कार्कीले प्रहार गरेको ज्याभ्लिङ थ्रोको रड गाडिँदा कक्षा ४ मा अध्ययनरत राईको मृत्यु भएको थियो ।
टिप्पणीहरू