नोबेल अस्पताल गलेको कि गोहीको आँसु चुहाएको ?

नोबेल अस्पताल गलेको कि गोहीको आँसु चुहाएको ?

अतिरिक्त शुल्कको विरोधमा विद्यार्थीहरुले निरन्तर चर्को आन्दोलन गर्दा पनि कानुन कार्यान्वयनलाई बेवास्ता गर्दै आफ्नो अडानमा बसेको विराटनगरको नोबेल मेडिकल कलेज व्यवस्थापन अन्तत गलेको छ । उसले एमबीबीएस प्रथम वर्षमा पढाईबाट वञ्चितसबै विद्यार्थीहरुलाई सम्पर्कमा आएर अध्ययन थाल्न आग्रह गरेको छ । तर विद्यार्थीले नोबेलको उक्त चरित्रलाई गोहीको आँसुसँग तुुलना गरेका छन् ।

कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका प्राचार्य रामहरि घिमिरेले विज्ञप्ति मार्फत् चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क नलिने र कलेज, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय तथा शिक्षा मन्त्रालयबीच गता पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाइएको छ । प्राचार्य घिमिरले पढाईबाट वञ्चित भइरहेका विद्यार्थीमाथि पूर्वाग्रह नराखिने र सुरक्षाको पूर्ण प्रत्याभूति गराउने वचन दिएका छन् ।

१५ आंै ब्याचको भर्ना प्रक्रिया पूरा गरेर एमबीबीएस अध्ययन थालेका १ सय १० जना विद्यार्थीमध्ये १० जना अझै असुरक्षाको कारणले पढाइबाट वञ्चित छन् । उनीहरुलाई सुरक्षित रुपले अध्ययनको व्यवस्था मिलाउन संघीय संसदको विषयतगत समितिले यसअघि नै निर्देशन दिइसकेको छ ।

विद्यार्थीहरुसँग कानुन विपरित साढे चार लाख रुपैयाँ अतिरिक्त्त शुल्क असुल्न खोजेको विरोधमा आन्दोलन गर्दै आएका विद्यार्थीलाई पाँच विद्यार्थी संगठनले साथ दिएका थिए । ती संगठनहरुले झण्डै एक महिना नोबेलविरुद्ध आन्दोलन गरेका थिए । तर पनि मेडिकल कलेजले आफनो अडान फिर्ता लिएन ।

सरकारले समेत कारबाही गर्न सिडिओलाई निर्देशन दिँदासमेत मेडिकल कलेजमाथि कुनै कारबाही हुन सकेको थिएन । चिकित्सा शिक्षा आयोग र सम्बन्धन दिने काठमाण्डौ मेडिकल कलेज पनि निरीह बनेका छन् ।

विद्यार्थीहरुले एमबीबीएस कोर्षको कुल ४४ लाख ३६ हजार रुपैयाँमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार रुपैयाँ बुझाएर भर्ना भएका थिए । तर कलेजले पछि विद्यार्थीबाट इन्टर्नशीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजारलगायत अन्य धेरै शुल्कसहित ४ लाख ८२ हजार अतिरिक्त रकम बुझाउन विद्यार्थी र तिनका परिवारलाई दबाब दिएपछि आन्दोलन चकेको हो ।

– आशिका लम्साल

टिप्पणीहरू