अर्कैखाले चोरीमा मन्त्री अग्रसर

नक्कलीको भीडमा सक्कलीलाई टिक्नै सकस । भारतीय टेलिभिजनमा चर्चित ब्राण्डका विज्ञापन बज्ने । नेपालमा धमाधम तिनै ब्राण्डको नाममा कम्पनी दर्ता हुने । अनि विदेशी कम्पनी आएको खण्डमा तिनै नक्कली कम्पनीसँग जुध्नुपर्ने । र, पासा तिनै नक्कली कम्पनीको पल्टने । अर्थात् सक्कली कम्पनीले नक्कली कम्पनीसँग पराजित र आजित भई लगानी फिर्ता लैजानुपर्ने । यस्तो चोरी कर्ममा मुछिएका छन् एक मन्त्री । उनी र दुई विदेशी कम्पनीबीच अधिकारको लडाइँ चल्दै छ ।

बहुराष्ट्रिय कम्पनी पेप्सीको ईन्कले कुरकुरे उत्पादन गर्दै थियो । सो ब्राण्ड लोकप्रिय भइरहेका बेला यता मोतीलाल दुगडको स्पाइसेज एण्ड फुड प्रडक्ट प्रालिका नामबाट नेपाली बजारमा कुरकुरे दर्ता मात्र भएन, अरूले वर्षौंको मिहिनेतबाट ख्याति कमाएको ब्राण्डको नक्कल गरी ल्याइएको कुरकुरेले बजार खान थाल्यो । सक्कली उत्पादन नबिक्ने, नक्कली उत्पादनले बजार पिटेको चाल पाएपछि बहुराष्ट्रिय कम्पनी पेप्सी अधिकारको लडाइँ लड्न थाल्यो । यो विवाद पाटन उच्च अदालत हुँदै उद्योग विभागमै फर्किएको छ । दुगडको कम्पनीविरुद्ध बहुराष्ट्रिय कम्पनी पेप्सीको इन्क मात्र होइन, मेरिगोल्ड पनि कानुनी लडाइँमा छन् । यसरी अरूको कम्पनीको नक्कल गरेर अर्थात् ट्रेडमार्क ओगटेर मोलमोलाइ गर्ने धन्दा मौलाएको हो । आफ्नो मौलिक ट्रेडमार्क र ब्राण्डमा अरूले नै कब्जा जमाइदिएपछि सयौं कम्पनीको रुवावासी छ । यसरी अर्काको बौद्धिक सम्पत्ति चोरेर खाने दुगड एक्ला होइनन् । यस्तो समूह ठूलो रहेछ ।

अहिले आफ्नो टे«डमार्क चोरी भयो भन्दै ६ सयभन्दा बढी कम्पनी कानुनी उपचार खोजिरहेका छन् । जस्तोः अमेरिकाको चर्चित ब्राण्ड ‘नर्थफेस’ले आफ्नो लोगो दुरुपयोग भयो भन्दै त्रिपुरेश्वरस्थित उद्योग विभाग गुहार्न पुगेको छ । उसले ठमेलको ओतड कालापत्थर आउट स्टोरसहितका पसलेले लोगो प्रयोग गर्दै नक्कली सामान बिक्री गरेकोले उजुरी दर्ज गरेको हो । यसैगरी, उद्योग विभाग गुहार्न पुगेको छ, बेंग्लोरको युनाइटेड बु्रअरी । उसले नेपाल बु्रअरीविरुद्ध टे«डमार्क चोरीको मुद्दा दायर गरेको छ । बेंग्लोरको चर्चित ब्राण्ड ‘किङफिसर’ कै नाम र लोगो दुरुपयोग गरेर यता नेपाली बजारमा ‘किङफिसर’ बियर उत्पादन र विक्री वितरण भएको पाएपछि भारतीय कम्पनी न्याय खोज्दै भौंतारिएको हो । यसरी नक्कली कम्पनी खडा गर्ने गोर्खाका भवन भट्टहरू हुन् । जसले बिबि एयरवेज, बिबि होलिडेज, बिबि ग्रीन इनर्जी, धुलिखेल माउण्टेन रिसोर्टलगायतका आधा दर्जन कम्पनी चलाउँदै आएका छन् ।

यही झमेलामा फस्दा प्रख्यात जापानी रंग उत्पादक कम्पनी आफ्नो ब्राण्ड र लोगो नै परिवर्तन गर्न बाध्य भयो । जापानी कम्पनी कान्साई नेरोल्याकको ट्रेडमार्क (व्यापार चिह्न) अर्कैले हत्याइदिएपछि उसले ब्राण्ड नै फेरेर केएनपी बनाएको छ । यस्तै भारतीय रिलायन्स सिमेन्टले बजार पिट्दै गर्दा यता बिनोदकुमार अग्रवालहरूले सोही नाममा सिमेन्ट कम्पनी दर्ता गरेपछि उसले यताबाट लगानी नै फिर्ता लैजान बाध्य भएको उद्योगका अधिकारीहरू सुनाउँछन् । यस्तै गुनासो लिएर उद्योग विभाग पुगेको छ स्प्यारो पे प्रालि । उसले नेल्मा प्लेटफर्म प्रालिविरुद्ध अनाधिकृत ट्रेडमार्क (लोगो) प्रयोग गरेको भन्दै उजुरी दर्ज गराएको छ । उनेल्मा प्लेटफर्मले स्प्यारो पे प्रालीको ‘इ खल्ती’ ट्रेडमार्क अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै उक्त ट्रेडमार्क बदर गर्न माग भएको हो । ट्रेडमार्क चोरीको सबैभन्दा बढी समस्या देखिन्छ ह्विस्की, सुर्तीजन्य पदार्थ, चकलेटलगायत वस्तुमा । जस्तो एउटा ब्राण्ड लोकप्रिय भएसँगै त्यही वा त्यस्तै नाममा अर्काे कम्पनीको उत्पादन देखिने प्रवृत्ति बढ्दो छ । विभागमा अझैं ६ सय ४८ यस्ता उजुरी फस्र्याेट हुन बाँकी छ ।

टिप्पणीहरू