एउटै विद्यालयका दर्जनौं विद्यार्थी एक हप्तादेखि बिरामी

रुकुम पश्चिमको एउटा विद्यालयका दर्जनौं विद्यार्थी एक सातादेखि बिरामी परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ७, कुरलमा रहेको बालकल्याण आधारभूत विद्यालयका अधिकांश विद्यार्थी बिरामी परेका हुन् ।

विद्यार्थीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक झुपलाल ओलीले बिरामी परेपछि विद्यार्थीहरु विद्यालय नै आउन छोडेको बताउनुभयो । उहाँले एक हप्तायता विद्यार्थीमा यस्तो समस्या देखिएको जानकारी दिनुभयो ।

केही विद्यार्थी स्थानीय सिम्रुतुस्थित मेडिकलमा उपचार गरेर घरमै रहेको र केही घरायसी उपचार गरेर बसेको उहाँले बताउनुभयो । उहाँकाअनुसार २० जना विद्यार्थी एक सातादेखि बिरामी छन् ।

विद्यालयमा आएका विद्यार्थीहरु पनि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याबाट ग्रसित रहेको प्रधानाध्यापक ओलीले भन्नुभयो ।

बिरामी भएकै कारण अहिले विद्यालयमा पठनपाठन बन्द हुने अवस्था रहेको छ । स्वास्थ्य समस्या देखिएपछि स्थानीय मेडिकल तथा स्वास्थ्य संस्थामा उपचार गराइरहेका विद्यार्थीमा भाइरल ज्वरोको समस्या रहेको बताइएको छ ।

विद्यार्थीहरु बिरामी हुन थालेको खबर प्राप्त भएकाले भोलि विद्यालयमा स्वास्थ्यकर्मीको टोली पठाएर चेक जाँच तथा उपचार सुरु गरिने वडाअध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो ।

शिशु कक्षादेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् । गर्मी सुरु भएपछि विद्यार्थीहमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ ।

टिप्पणीहरू