जयनेपालमा भूमिगत जोखना
नेपाली कांग्रेसभित्रको रडाकोमा सात प्रदेश र ७७ जिल्ला कता छ हैन, भारतले के भन्छ भनेर हेर्ने प्रबृत्ति मौलाएको छ । र, नेताहरू पनि त्यतैतिर पाइला सार्नमा व्यस्त छन् ।
वीपीकै उत्तराधिकारी हुनु, त्यसमाथि धार्मिक एजेण्डामा प्रष्ट हुनुका कारण दक्षिणको पहिलो रोजाईमा डा.शशांक कोइराला पर्छन् । तर, भारतीयसामु आफ्नो कुरा राम्रोसँग राख्न सक्ने र भारतले पनि उनले भनिसकेपछि विचार गर्ने पात्र हुन्, प्रदीप गिरी । उनी आफैँचाहिँ विमलेन्द्र निधीलाई सभापति बनाउनुपर्छ भन्ने एकसूत्रीय अभियानमा छन् । उनैले भर्खरै रामचन्द्र पौडेललाई काशीयात्रा गराइदिए । उनकै डिजाइनमा कहिले शेखर, शशांक अलग अलग पारी जाने गरेका छन् । अहिले पनि शशांक, उदयसमशेर राणा, डा.मीनेन्द्र रिजालहरू भारततिरै छन् । यीबाहेकका कांग्रेस नेताहरू कोही राजनीतिक तहबाट, कोही ‘रअ’ को माध्यमबाट त कोही कर्मचारीको फेरो समाएर त्यहाँ हावी हुन्छन् । भारतले शंका गरेको थियो, शेखर कोइराला चिनियाँसँग निकट हुन् भन्ने । यो कुरा नेपालका खेलाडीसँग हैन, चिनियाँसँगै सोध्दा थाहा पाए– युरोपियन, अमेरिकनसँग पो उनको हिमचिम बढी रहेछ । यदि त्यस्तो हो भने शेरबहादुरको रजगज सकिएपछि शेखरलाई अगाडि लैजाँदा पो हुन्छ कि भन्ने धारणा पनि एक तहमा नबनेको होइन । तर, भारतले सक्दा, लाग्दा र पुग्दासम्म डा.शशांकलाई नै फस्र्टम्यान बनाउने हो । यदि, त्यस्तो गर्न सकिएन भने शेरबहादुरलाई नछोड्ने हो । पत्नी आरजुलाई सेटल गरेर निधीलाई उत्तराधिकार दिनुस् भन्ने दबाब पनि शेरबहादुरको कोटरीमा चर्को छ ।
अहिले शशांकसँगै मीनेन्द्र यसकारण भारतमा छन् कि, झोलको प्रभाव परेपछि कहाँबाट के झर्छ भन्ने कुराको पत्तो उनले पाउँदैनन् । पिउन थालेपछि अरुका कुरा बुझ्दैनन्मात्र हैन, उनको कुरा पनि अरुले बुझ्दैनन् । यही कारण मीनेन्द्र साथमै छन् । त्यसै त मीनेन्द्र राजनीतिक रूपमा शक्ति बुझ्ने र पछ्याउने मामिलामा अगाडि नै छन् । हिजो सुशीलसँग नजिक हुँदा पनि पद नपाउँदा सिटौलाको कोटामा मन्त्री हुन भ्याए ।
निधी प्रदेश २ को टिकट पनि जग्गा आफ्नो नाममा नामसारी गरेर बाँडेको आरोप लागेका व्यक्ति । हिजो भारतीयले मन नपराएर उनको निर्वाचन क्षेत्रमा राजेन्द्र महतोलाई उभ्याएर जिताएको अवस्था । त्यसैले निधीभन्दा बढी रोजाई शशांकको हुने नै भयो । शशांक चीन, अमेरिका कसैको नभएर हिन्दू पक्षधर ।
वास्तविकता के हो भने, रामचन्द्र र शेरबहादुर अब पार्टी सभापतिमा परस्पर भिड्दैनन् । यदि रामचन्द्र फेरि एकचोटि उठौँ न त भन्ने ठाउँमा पुगेछन् भने पनि उनको नाममा हावी भएको गुट एकताबद्ध हुने अवस्था रहँदैन । उनी उठेको अवस्थामा शेखर, शशांकमध्ये कोइराला परिवारका एकजना उठ्ने पक्कापक्की हो । त्यसो हुँदा अहिलेका रामचन्द्र पक्षधरहरू पोखरापूर्व र पोखरा पश्चिममा विभाजित हुन्छन् । चितवन, नवलपरासीदेखि पश्चिमकाहरु कोइरालाकै पक्षमा हुने भए । अघिल्लो पटक सभापतिमा कृष्ण सिटौला, महामन्त्री गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले टिम बनाएर लडे । अमरेशमार्फत् शुरुमा जति लपक्क भए पनि सिटौलाको हकमा अब पारीले सहयोग गर्दैन । कारण हो, ०७२ सालको घटना । त्यसबेला संविधान केही दिनका लागि भए पनि रोक्नुप¥यो भन्ने आग्रह उनले मानेनन्मात्र हैन, सुशील कोइरालालाई तर्साएरै ओली र प्रचण्डसँग मिली संविधान जारी गराए । त्यसैले अरुलाई कमजोर बनाएर सिटौलालाई जिताउने भूमिका भारतको हुँदैन । यदि रामचन्द्र पनि लडे भने शेरबहादुर आफू उठ्छन्, निधीलाई उठाउँदैनन् ।
अहिले रामचन्द्रचाहिँ अचम्मको खेलोमा लागेका छन् । शशांक र शेखरनजिकका मान्छेमार्फत दुबैलाई सभापति बन्न उक्साउने । दुबै जित्ने कुरामा आश्वस्त हुने गरी परिचालित झुण्डका कारण रामचन्द्र गुटभित्र तीव्र अन्तरविरोध पैदा गर्ने । यसपछि सबैलाई राखेर रामचन्द्रले कोइरालामध्ये एउटालाई उपसभापति र अर्कोलाई महामन्त्री बाँड्ने, आफू सर्लक्कै सभापति हुने । तर, यो कुराले न कोइरालाको कानमा चिनी पस्छ, न रामचन्द्रको ईशारामा तुफान नै मच्चिन्छ । किनभने, रामचन्द्रकै भूमिका पनि सर्वसम्मत हुन सकेको छैन ।
१२ औँ महाधिवेशनबाट सुशील सभापति हुँदा विधानमा भएको २०–२२ विभागलाई ४४ बनाए । अहिले शेरबहादुरलेजस्तै अन्तिममा मात्रै विभागीय प्रमुख तोके । सुशीलले विरोध थेग्न सकेनन् र भोलिपल्टै वेभसाइटबाट त्यस्तो निर्णय निकाल्नुप¥यो । अहिले देउवाले त्यतिसम्म गरिहालेका छैनन् । बरु, खस–क्षत्री पार्टीका दयाराम पाण्डे र गच्छेदारको पार्टीको नाममा हजारौं क्रियाशील सदस्यता भराइरहेका छन् । बुथ प्रतिनिधि त्यसैबाट आउने हुन् । बुथबाट महाधिवेशन प्रतिनिधि छानिन्छन् । तर, रामचन्द्रहरू क्रियाशील सदस्यमार्फत जगै सिध्याउने भए भनेर बुझिरहेका छैनन् । वैकल्पिक, आमन्त्रित केन्द्रीय सदस्य र विभागीय प्रमुखमै चित्त दुखाउँदै छन् । अहिले देउवाले बनाएका केन्द्रीय सदस्य र विभागीय प्रमुख भनेका एक वर्ष भिजिटिङ कार्ड छाप्नका लागि मात्र हुन् । उता, क्रियाशीलबाट बिताइसके, रामचन्द्रलाई पत्तो छैन । हिजो नेविसंघमा ३२ वर्षे उमेरहद आफैँले लागु नगर्ने गरी काम गरे । पदाधिकारी भागबण्डा लगाउँदा विधान मिचिएको बिर्सिए भने ८५ सदस्यीय केन्द्रीय कमिटीमा आज १ सय १७ पुग्दा विधान मिचियो भन्छन् । हिजो नेविसंघमा मिचिएको देखेनन् ।
घर घरमा घमासान
अहिले रामचन्द्र पक्षधरका बैठक कि चाक्सीबारीस्थित प्रकाशमान सिंहकहाँ, कि टोखास्थित डा.शशांकको घरमा मात्र बस्ने गरेको छ । यो संयोग हैन, संन्त्रास हो ।
प्रकाशमान सभापति उठ्ने हैनन् । पदाधिकारी नपाउँदा दशतिर टाउको फर्किएको रामचन्द्रको पछि लाग्नुभन्दा देउवाबाट पदाधिकारी सुनिश्चित हुन्छ भनेर उनी उता जालान् भन्ने पिर । शशांकले सभापति नपाए सजिलै उपसभापति जित्न सकिन्छ भनेर उता चिप्लिने हुन् कि ? शंका अर्को पनि छ ।
टिप्पणीहरू