दिल्लीतिर उनी किन दौडिए ?

दिल्लीतिर उनी किन दौडिए ?

दक्षिणी छिमेकीलाई नेपालको आन्तरिक राजनीतिमा कस्तो चासो बढेको छ भने, ऊ एउटामात्र हैन, नेपालका सत्तारुढसँगै थरिथरि शक्तिलाई योजनाअनुसार एकत्रित गरी अघि बढ्दै छ । माधव नेपालले केपी ओलीसामु आफूलाई आएको ‘अफर’ बारे बताएबाटै बुझिन्छ, सकेसम्म ऊ कसैलाई छाड्ने पक्षमा छैन । तर, पहिलो सफलता हात पारेको छ, पूर्वपञ्चबीचमा ।

नेपाली कांग्रेसमा बाक्लिएको महाधिवेशनलक्ष्यित चलखेलमा भारत अहिले परीक्षणको भूमिकामा मात्रै छ । तर, हिन्दू राज्यको एजेण्डा बोक्ने पूर्वपञ्चलाई एकता गराई छाड्यो । नेपालको वर्तमान राजनीतिक परिदृश्यभित्र पूर्वपञ्चहरूको शक्ति उति ठूलो त होइन, तर नजिकबाट हेर्दा ती शक्तिले प्रबद्र्धन गरिरहेका विषयवस्तुप्रति भारतीय मूलधारको आकर्षण बढेको छ । हिन्दूत्वलाई आफ्नै देशमा भनेजसरी लागु गर्न नसकेको भारतीय संस्थापन नेपालमा भने यही नाममा एकथरि समूहलाई एक पार्दै आफ्नो भूमिलाई सन्देश दिने पक्षमा रहेको बुझिन्छ । एकताको तिथि टुंगो लाग्यो । एकतानिम्ति सबै तयार भए । तर, फेरि पशुपतिलाई दिल्ली चाहियो ।

वास्तवमा तीन राप्रपाबीच एकताको टुंगो लागेको माघ २९ मै हो । कमल थापाहरूले मान्दा फागुनको १ गते भइसकेको थियो । यसैअनुसार दुई दिन आन्तरिक अभ्यास गरी पद, कमिटी संख्या, राजनीतिक दृष्टिकोणहरू टुंगो लगाएर ३ गते एकताको घोषणा गर्ने प्रस्ताव राखे । पशुपतिले ‘हुन्छ–हुन्छ’ भने । तर, २ गते बिहानै ‘एकदमै जरुरी प¥यो, गएर आइहाल्छु, अनि गरौँला’ भन्दै दिल्ली उडे । एक–दुई दिनमै फर्किने बचन दिएर गएका पशुपति फर्किन १०–१२ दिन लाग्यो । यताबाट कमल थापाहरूले सातैवटा प्रदेशमा पार्टी अभियान भएको र एकता गरेपछि फेरि अलग्गै कार्यक्रम गर्ने कि भन्ने अन्यौलता प्रस्तुत गरे । पशुपति, प्रकाशचन्द्रहरूबाट जवाफ नआएपछि सातै प्रदेशका कार्यक्रम जारी राखे । पशुपति दिल्लीबाट फर्किएपछि केही दिन आन्तरिक व्यवस्थापनमा छलफल चल्यो । र, राप्रपा एक भयो ।

अध्यक्ष तीन राखियो । केन्द्रीय कमिटीमा ४५ र ५५ को आँकडाउपर सहमति भयो । पदाधिकारीबारे उचित समयमा उचित निर्णय गर्ने भन्ने सहमति थियो । अब महाधिवेशन अगाडि टुंग्याउने कुरा छ । यस्तो एकतामा पशुपति र कमलमात्र हुन्, पारीबाट भाऊ दिइएका । प्रकाशचन्द्र लोहनीको अहिले कुनै पनि विदेशी शक्तिकेन्द्रसँग हिमचिम छैन । भारतमा इन्दरकुमार गुजराल शक्तिमा हुँदासम्म राम्रै चल्थ्यो । अहिले त्यो अध्याय समाप्त भइसकेको छ ।

टिप्पणीहरू