शिक्षकले मोबाइल फोनबाट चिट चोरेपछि….
शिक्षक सेवा आयोगले परीक्षा हलमा जाँदा मोबाइल फोन नलैजान सबै शिक्षकलाई पुनः सूचित गरेको छ । हाल भइरहेका आयोगका विभिन्न परीक्षामा शिक्षकहरुले मोबाइलबाट चिट चोरेको पाइएपछि आयोगले पुनः सूचित गराएको हो ।
प्रकाशित सूचनामा हाल भइरहेका विद्यालय तहका माध्यमिक,निम्न माध्यमिक,प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षामा मोबाइल फोन नलैजान भनिएको हो ।परीक्षार्थीले परीक्षा हलमा मोबाइल फोन लिएर जान नपाउने निर्देशन प्रवेशपत्रमै उल्लेख छ । तर पनि अधिकांशले बोकेको पाइएपछि फेरि सूचना निकाल्नुपरेको आयोगको भनाइ छ ।
सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका इलेक्ट्रोनिक डिभाइस साथमा नलैजान र लगिएको खण्डमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने चेतावनीसमेत दिइएको छ । परीक्षा केन्द्रमा खटिने कर्मचारीहरुलाई सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन आयोगले कडा निर्देशन दिएको छ ।
टिप्पणीहरू