मारेर अरुलाई आफूचाहिँ खुब बाँचौला ?
पछिल्लो समय देशमा लकडाउन भएर घरघरमा बस्नुपर्दा मात्र पनि मान्छेहरु छटपटाइरहेका छन् । कोरोना भाइरसबाट मरिन्छ कि भनेर आफू र आफ्नो परिवारको सुरक्षाका लागि अनेक उपाय अपनाउँदैछन् । मृतकका परिवार शोकाकुल छन् ।
मृत्यु निश्चित छ तर मानिसलाई लामो आयु बाँच्नुपरेको छ । स्वतन्त्रतापूर्वक नाच्नुपरेको छ अर्थात् हाँस्नुपरेको छ, रमाउनुपरेको छ । प्रेम चाहिएको छ, यौन पनि चाहिएको छ । त्यसैले बिहे गरी घरजम गर्छन् मानिस । तर अरु प्राणीलाई छेक्छन् । आफ्नो लागि दया–माया, खुशी, सुख–सुविधा अनेक चाहने मानिस यसै धर्तीका अन्य प्राणीप्रति चाहिँ साह्रै निर्दयी छ । आफ्नो स्वाद, सन्तुष्टि र पैसाका लागि अन्य प्राणीको स्वतन्त्रता बन्धक बनाइरहेको छ, भकाभक मारेर हसुरिरहेको छ । आफू र आफ्नो परिवारका मानिस कहिल्यै मर्न नपरे हुन्थ्यो झैं गर्ने तर अरु प्राणीलाई मारेर स्वाद लिने, व्यापार गर्ने ? आफू बाँच्न चाहनेले अरुलाई बाँच्न नदिने ? अहिलेको युगमा पशुपालन नगरी के पैसा नै नकमाइएला त ? आफू खुलेआम हिँड्न चाहने मान्छेले अरु प्राणीलाई चाहिँ खोर–गोठमा बाँधेर राख्न सुहाउँछ ? के यो दुनियाँ मानिसको मात्र हो ? कदापि होइन । यहाँ सृष्टि भएका सबै प्राणीको साझा घर हो यो संसार ।
कोही जलचर छन्, कोही थलचर छन् । कोही आकाशमा उड्छन्, कोही जमिनमा घिस्रिन्छन्, उफ्रिन्छन् । मानिस दुई खुट्टाले हिँड्छ भने चार खुट्टाले हिँड्ने अरु छन् । कसैको आयु लामो छ, कसैको छोटो । सबैको आ–आफ्नै छ जीवन चक्र । सबैभन्दा बुद्धि भएको विवेकी प्राणीचाहिँ मानिस । त्यसैले सबैको हित गर्नु मानिसको कर्तव्य हुन्छ । तर मानिसले आफ्नो स्वार्थ मात्र सोच्यो, आफूमात्र बाँच्न खोज्यो । त्यसैले त मानिस पनि अकालमा मर्दैछ, अनेक दुःख कष्ट झेल्दैछ । रोग, भोक, शोकबाट ग्रसित छ । विभिन्न प्राकृतिक विपत्तिबाट गुज्रिनुपरेको छ ।
यस संसारमा सृष्टि भएका प्राणीहरुमा कोही शाकाहारी छन्, कोही मांसाहारी । तर मानिस सर्वाहारी भइदियो । बुद्धि–विवेकको हिसाबले मानिस शाकाहारी नै हुनुपर्ने जस्तो लाग्छ । के मासु नखाई मानिस बाँच्न सक्दैन ? अहिलेका मान्छेले अघिल्ला पुस्ताबाट जे सिके, त्यसैको अनुशरण गर्दै आएको छ । तर सुरुतिरका पुस्ताको पनि बाध्यता थियो । ढुंगेयुगमा मानिसले अन्य खानेकुरा नभेटेर जनावरलाई शिकार गरी खानुपर्ने बाध्यता थियो भनिन्छ । बिस्तारै कृषि युगदेखि औद्योगिक युग, वैज्ञानिक युग, सञ्चार युग आदि अनेक युगमा मानिस आइसकेको छ । अघिल्ला पुस्ताको तुलनामा बुद्धि, विवेकको हिसाबले पछिल्ला पुस्ता निकै अगाडि छ । पछि आउने पुस्ता अझ विकसित हुने निश्चित छ । बुद्धि, विवेकको विकास भए अनुसार यस प्रकृतिमा रहेका अन्य प्राणीको हितमा मानिसले खै सोचेको ?
आफू स्वतन्त्रता चाहन्छ, कसैको अधीनमा बस्न रुचाउँदैन मान्छे । तर गाई, भैंसी, कुखुरा, हाँस, बाख्रा, सुँगुर जस्ता अन्य कैयौं प्राणीलाई थुनेर–बाँधेर राख्छ, काटेर खान्छ, व्यापार गर्छ । तिनका सन्तानलाई अघाउन्जेल खान नदिएर दूध आफैं दूहेर खान्छ, बेच्छ । अत्यन्त क्रूर भो मानिस । सोझा, निरीह प्राणीमाथि अचाक्ली ज्यादति गर्दै आएको छ । आफूलाई हानि–नोक्सानी पु¥याउने जीवजन्तु नष्ट गर्नु, तिनको प्रतिकार गर्नु अनुचित होइन । स–साना कीरा फट्याङ्ग्रा हामी हिँड्दा कुल्चिएर मर्ने कुरा पनि अलग भयो । तर हामीलाई केही नगर्ने साना–ठूला जीव, जसले हामीजस्तै एकापसमा प्रेम गर्दछन् । यौनक्रीडामा रम्छन्, सन्तान पैदा गर्छन् । आफ्नो सन्तानको रक्षा गर्छन् । कुखुरालाई नै हेरौं न, उसका स–साना चल्ला नजिक हामी कोही जाँदा ठुङ्न खोज्छ । एउटा भनाइ नै छ नि कुखुराले चल्ला छोपेझैं ओड ढाकेको भन्ने । कोही मानिस नजिक जाँदा आफू पनि खुरर्र भाग्छन्, चराहरु उडेर जान्छन् । हामीलाई जस्तै उनीहरुलाई पनि ज्यानको माया छ, सन्तानको पनि उत्तिकै माया छ । त्यस्ता सोझा, निमुखा प्राणीलाई आफ्नो फाइदाको निम्ति बाँधेर राख्नु, स्वाद लिन मारेर खानु प्राकृतिक हिसाबले सही होइन कि ¤ तर हामी अरुको त जीवन नै होइन जस्तो गर्छाैं । मानव मात्रको संसार हो भन्ने भ्रममा छ मानिस । आफ्नो शौखको लागि समेत विभिन्न पशुपन्छीलाई बाँधेर राख्ने मानिस थुप्रै छन् । चिडियाखानामा थुनेरै राखिएको छ कैयौं पशुपन्छीलाई ।
मानिसले गरेको यस्तै–यस्तै पाप कर्मको फल हुन सक्छ । बेला–बेलामा विभिन्न जीवात्मा नै मानिसको काल बनेर आइरहेका छन् । विभिन्न काल खण्डमा विभिन्न भाइरसको संक्रमणले मानिसलाई चिहानमा पु¥याउँदै आएको छ । अहिले विश्वमै फैलिरहेको कोरोना भाइरसको संक्रमण मांसाहारीलाई नै भइरहेको भन्ने हल्ला छ, कत्तिको सत्य हो ? त्यो त थाहा भएन । जेहोस्, आफू पनि बाँचौं, अरुलाई पनि बाँच्न दिऔं । अरु प्राणीको ज्यान नमासिकन शाकाहारी भएर पनि त हामी बाँच्न सक्छौं नि ¤ मांसाहारीको तुलनामा शाकाहारी नै बढी स्वस्थ हुने कुरा स्वास्थ्य विज्ञानले बताइरहेको छ । यसरी मानिसले अन्य प्राणीलाई दुःख दिने, मार्ने क्रम नरोकिने हो भने जीव–जीवाणुहरुकै आक्रमण–संक्रमणबाट मानव समाज संकटमा पर्दै जानेछ भन्न सकिन्छ । मान्छेले प्रकृतिलाई माया नगर्ने, अरु प्राणीको हित नसोच्ने हो भने यस्ता विपत्ति अरु धेरै झेल्नुपर्नेछ । आफू बाँच्न चाहनेले अरुलाई पनि त बाँच्न दिनुप¥यो नि ¤ दुर्घटना, प्राकृतिक विपत्तिका अलावा विभिन्न रोगमा जीवाणुहरुले नै त हो नि मानिसको ज्यान लिने । कहिले पक्षीबाट सर्ने रोगले मर्नुपरेको छ त कहिले मुसा लगायतका जीवबाट । अरु प्राणीलाई मान्छेले बाँच्न नदिने हो भने मान्छेलाई पनि यो धर्तीमा बाँच्ने अधिकार रहँदैन । किनकि सबैको हो यो धर्ती, मिलेर बाँचौं ।
बाघले शिकार गरेर मासु खान्छ, छेपारो–माउसुलीले पनि कीरा–फट्याङ्ग्रा खान्छन् । कुकुरले मासु खान्छ । तर हामी त्यस्तो जनावर, कीरा त होइनौं । कसैलाई तुच्छ वचनले गाली गर्दा कस्तो पशु जस्तो भनिन्छ । आफूलाई पशु÷जनावर भन्दा मानिस रिसाउँछ भने पाशविक व्यवहार चाहिँ किन गर्ने ? हामी बाघ–भालुको अगाडि जान डराउँछौं । आफू मर्न डराउँछौं भने अरुलाई किन मार्ने ?
‘देशैभरि बाख्राको खोर जस्तै क्वारेन्टाइन तयार ….’ हालै विमल लामिछानेले फेसबुकमा लेखेका छन् । अहिले देशमा लकडाउन भएर घरघरमा बस्नुपर्दा पनि कति मानिस छटपटाइरहेका छन् । आफूलाई अलिकति समय क्वारेन्टाइनमा बस्नुपर्दा छटपटी हुन्छ भने जन्मेदेखि मान्छेले नै नमारेसम्म खोर–गोठमै थुनिएर–बाँधिएर बाँच्नुपर्दा ती प्राणीलाई कस्तो भएको होला ? अझ गाई, भैंसीलाई नाके रसी लगाएर मान्छेले बेस्सरी तानेको देखिन्छ, त्यसो गर्दा विचराहरुलाई कति दुख्दो होला ¤ घाँटीमा दाम्लो नबाँधीकन आफूखुशी जङ्गलमा घाँसपात–कीराफट्याङ्ग्रा खोजी–खोजी खाने, खुला भएर हिँड्दै आपसमा प्रेमालाप गर्ने रहर ती प्राणीलाई पनि त होला नि !
टिप्पणीहरू