सी पथमा किन गुडेन कोरोना युद्धको रथ ?

सी पथमा किन गुडेन कोरोना युद्धको रथ ?

पहिलो कथा यसरी शुरु हुन्छ । कथा के हो भने यतिबेलाको नेकपाले सात महिनाअगाडि गरेको सी पथको कुराबाट कथा शुरु गरौं । सरकारी नेकपाले एकीकरणपछि ठूलो हल्लाखल्लासहित राजधानीमा प्रशिक्षण गरेको थियो । नेकपाको स्कुल विभागले त्यो प्रशिक्षणमा कार्यकर्तालाई ‘सी पथ’ बारे प्रशिक्षण दिएको थियो । त्यतिबेला कामरेडहरूलाई काठमाडौंमा सी पथको राजनीतिक दर्शन र सिद्धान्तबारे पढाउन नेपाल आएका थिए चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ ।

यो सन्दर्भको सम्झना गरेपछि हामीले यतिबेलाको सरकारी नेकपाका उच्च तहमा हालिमुहाली भएका नेताहरूले भनेको सी पथको महान् प्रशिक्षणले ल्याउने उथलपुथल र सी पथको नेकपा मार्गचित्रबारे गरेका महान् भविष्यवाणी सम्झनलायका छन् । उदाहरणको रूपमा केही प्रतिनिधि भनाइ एकपटक सम्झौँ न फेरि । यतिबेला प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत भएका नेकपा नेता सूर्य थापाले भनेका थिए, नेपाल चीन सम्बन्ध राजकीय पार्टी हुनुको नाताले मात्रै होइन, विचारधारात्मक दृष्टिले पनि उच्च छ । नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालको तर्क थियो चीनबाट सिक्ने यो महत्वपूर्ण अवसरको रूपमा लिएको छौँ । नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले गरेको तर्कचाहिँ यस्तो थियो उनीहरूको अनुभव लिने हो, आफूलाई अनुकूलअनुसार प्रयोग गर्ने र त्रुटि सच्याउने हो । नेकपाको स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले चीनबाट अनुभव सिक्ने कुरा हो भन्ने ठहर गरेका थिए ।

कमरेडहरूको यो संश्लेषणपछि नेकपा सरकारहरूले केन्द्रदेखि गाउँगाउँको सिंहदरबामा बसेर कुन–कुन गौंडामा के–कति कमिशनको झोली थापे होला त्यो त मलाई थाहा छैन । भित्री खेलोमेलो के–के भयो त्यो कुनै हिसाब कसैसँग छैन । ऊबेलादेखि यो बेलासम्म बागमतीमा कति बगे होला भेल त्यो त झन् नाप्ने कुरै भएन । तर, कमरेडहरूले गरेको सी पथको यो महान् सिकाइको गफ र ७ महिनापछि देशले भोग्दै गरेको विपत्ति र संसारले गुहार माग्दै गरेका चीनको छिमेकी भएर नियाल्दै गर्दा भने चीनबाट के सिके होला त कमरेडहरूले सी थपको रस भन्ने बिचित्रको काउकुती मनमा लागेको छ । त्योभन्दा भद्दा मजाकको दृश्य नेपाली राजनीतिको रंगमञ्चमा देखा परेको छ । विश्वचित्रमा कोरोना भाइसरको लडाइँ भन्दा चीन–अमेरीकाको प्रोक्सीवार खतरनाक छ, जसको शिकार विश्वका धेरै कमजोर राष्ट्र«हरू हुन सक्ने खतरा प्रष्ट देखिन्छ । तीन महिनादेखि कोरोना संकटको महामारीलाई झैल्दै गरेको सीको राज्यबाट कमरेडहरूले के लिए होला सि ‘सी पथ’ प्रश्न नउठ्ने कुरै भएन । सी पथको प्रशिक्षण मात्र लिएर कसरी होला त कमरेडहरूको राज्यमा चीनमा भएजस्तो काम जनताको स्वास्थ्य र राष्ट्रको सरोकारका काम के हुन्छ त ? भन्ने प्रश्न आमरूपमा उठेको छ ।

कमरेडहरूको समृद्धि पथमा कोरोना युद्धको रथ

पछिल्लो एक उदाहरण भएको किस्सा छ, चैत २० गते प्रकाशन भएको समाचार थियो, उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा सहभागी मन्त्रीबीच स्वास्थ्य सामग्री कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेमा विवाद भयो । केही मन्त्रीले सरकार–सरकार अर्थात् जिटुजीको विधिबाट किनौं भन्ने प्रस्ताव गरे । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले जिटुजी प्रक्रियाबाट किन्न नसकिएकै कारण निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउनुपरेको बताए । पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘हामीले छिमेकी मुलुकसँग स्वास्थ्य सामग्री हामीलाई यो यो चाहियो, सहयोग गर्नुहोस् भनेर पठाएका पनि हौं । तर, दुइटै छिमेकी मुलुक आफैं समस्यामा भएका कारण हामीले आजसम्म पनि खरिद गर्न सकिएन ।’ अनलाइन सञ्चार माध्यममा आएको क्याबिनेटको निर्णयको ४ नम्बर बुँदामा यस्तो थियो निर्णय ।‘कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले सेनामार्फत सरकार–सरकार (जिटुजी) को विधिबाट खरिद गर्ने ।’ अर्थमन्त्रीको माथिल्लो पंक्तिमा उल्लेख भनाइ र सरकारको यो निर्णयले समस्या के हो भन्ने संकेत त पक्कै गरेछ । लोकप्रिय जनमतबाट बनेको कम्युनिष्ट सरकारको सरकारी प्रयासलाई उस्तै कम्युनिष्ट भन्ने सरकारले नपत्याउने छिमेकीले सेनालाई मात्रै पत्याउने किन भयो होला ? सरकारले किन्दा हामी पनि संकटमा छौ भन्दै नबेच्ने सरकारले सेनालाई चाहिँ बेच्छ होला किन प्रश्न उठन सक्दैन जवाफ दिन पर्दैन र ?

पानीजहाजको नाममा मोटरबोट र रेलको कार्यालय नै उद्घाटन गर्दा पनि सरकारले गरेको काम नदेख्नेहरूले खोजेको, नल्याएको सुखी नेपाली र समृद्धि नेपालको मृगतृष्णाको एक चित्र छोप्ने गतिलो बहाना मिलेको छ योबेला कोरोना । कार्यकर्ताको असन्तुष्टिमा छारो हाल्ने अस्त्र बनेको छ कोरोना । नेताहरूको राजनीतिक बाँडफाँडको भाग नमिलेका तुष पोख्ने अस्त्र बनेको छ, कोरोना । जनताको आक्रोशको आगोमा पानी हाल्ने अस्त्र बनेको छ कोरोना । सत्ताको तर मारेर नअघाएकाहरूलाई वाइडबडी, मेलम्ची एनसेलको करछुट, स्क्युरेटी प्रेस खरिदजस्ता काण्डका कमिसनले नभरिएको कमरेडहरूको समाजवादको थैलो भर्ने अवसर बनेको छ, कोरोना । हुँदा–हँुदा त प्रतिगमन र अधिनायकवादलाई मलजल गर्ने अस्त्र बनेको छ, कोरोना ।

ओली नेतृत्वको सरकार आमजनतामा आशाको सञ्चार गराउन असफल भएको छ । सरकारका मन्त्री र नेताहरूको मिलेमतोमा भ्रष्टाचारका अनेकांै काण्ड बाहिर आएका छन् । संस्थागत भ्रष्टाचार ब्यापक छ । यस्तो अवस्थामा ७ महिनापछि नेकपाको ‘सी पथ’ के होला भन्ने जिज्ञासा पैदा हुनु नौलो होइन । काम गरेर देखाउने अवसर पाएको बेला सरकार र नेताहरू पैसाको खेतीमा अलमलिएको आजको यथार्थता हो ।

आज कोरोना महामारी रोक्ने चिनियाँ मोडल संसारभर उपयोगी सावित भएको छ । तर, सात महिनाअघि सी पथ पढाउनेहरूले चाहिँ किन पढ्न सकेन आजको सी पथको चिनियाँ अनुभवको पाठ आजको तातो प्रश्न यो हो ? अझै त्यति आत्मीयता साटासाटा गरेको दुई सत्ताधारी कम्युनिष्टहरू विपदको बेला किन पत्याएन छिमेकी कमरेडहरूलाई जो उस्तै झण्डा उचालेर सत्ताको रथमा विराजमान छन् ? चिनियाँ कम्युनिष्टसत्ताले ओलीको लालसरकारलाई किन पत्याएन र असफल भयो जिटुजी मोडल भन्दै छन् सरकारका अर्थमन्त्री जवाफ खोजी हुन जरुरी छैन ? ३ महिना छिमेकी कम्युनिष्ट सरकारको दुःख देखेर यताका कमरेडहरूले सिकेको के होला ? माझीको खलबलले सात गाउँ डुबेजस्तो कमिसनको खेलोमा पारेर जनस्वास्थ्यमा माथि खेलबाड गरेर किन डुबाइयो जनताको ज्यान ? जवाफ दिनुपर्छ कि पर्दैन ? लोकप्रिय जनमत र हजारांै कार्यकर्ता जनता स्वयंसेवक बेरोजगार राखेर किन गुहार मागियो सेनासँग ? के प्रतिगामी अधिनायकवाद कि जनपक्षीय अधिनायकवाद हो कमरेडहरूको सर्वहारा अधिनायकत्व जवाफ दिन जरुरी छ ।

मार्च २८ सम्मको एक तथ्यांकको आधारमा हेर्दा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले ७५ करोड डलर अर्थ मन्त्रालयलाई दिए ७.९ करोड सदस्यले ८.२६ अर्ब युआन दिएर कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग जुटाएका छन् । नेपालमा सरकारी नेकपाका कामरेडहरूले यो अंक माथगर्ने कमिसन र भ्रष्टाचार काण्ड मच्चाएका छन् । राष्ट्रिय ढुकुटी दोहन गरेका छन् । सी पथको नारा लगाउनेहरूले यो उल्टो पथ किन होला ? लाखांै कार्यकर्तालाई स्वास्थ्यकर्मी र स्वयंसेवक अनुरोध गर्दै तिनैको व्यवस्थापन गर्न कार्यकर्ताबाट सहयोग आह्वान भएजस्तो किन हुन सकेन ? भ्रष्ट चरित्र, नियतको खोट र पानीट्यांकीको नोट रोक्ने कुन मोडल होला ? वुहानमा कोरोना रोक्न अक्षम भन्दै सीले घोक्रेठ्याक लगाएको कमरेडहरू फौजजस्तो आज भ्रष्टाचार कमिसनमा डुबेर ढिलासुस्ती गर्नेहरूलाई किन सत्ताबाट गलहत्याएर खोरमा जाक्न सकिन्न, समाजवादको नारा लगाउने सरकारले ? कहाँ गयौ घनश्याम तिमी किन बोल्दैनौ ? तिम्रो क्याबिनेटको जनतालाई जवाफ चाहिएको छ ।

‘‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोहको अवसरमा कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रशिक्षण दिँदै गर्दा घनश्यामले पेश गरेको ६ पृष्ठ लामो कार्यपत्रले प्रश्न गरेको थियो, के विश्व व्यवस्था बदलिँदै छ ? अब कोरोनाले बदलिएको प्रणाली र आउने चुनौतीबाट हामीले सिक्ने र गर्ने के हो किन बोल्दैनन् होला घनश्यामहरू ? किन काम गर्न अग्रसर छैनन् उनको यो कार्यकारिणी मन्त्रीमण्डल ? जनतालाई जवाफ चाहिएको छ ।

टिप्पणीहरू