एमालेमा धमाधम कित्ताकाट
नेकपा एमालेको ११ औँ महाधिवेशनको मिति नजिकिंदै जाँदा कित्ताकाट तीब्र हुँदैछ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलवद्ध प्रतिष्पर्धा हुने निश्चित भएसँगै नेता-कार्यकर्ताले धमाधम कित्ता क्लियर गर्न थालेका हुन् । दुवै पक्षका समर्थकले प्रचार प्रसारसमेत व्यापक बनाएका छन् ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि मङ्सिर २७–२९ सम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । तेस्रो कार्यकाल अध्यक्ष हुने तयारीमा रहेका ओलीलाई काउन्टर दिँदै पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
योसँगै दुवै पक्ष प्रचारयुद्धमा लागेको हो । संस्थापन खेमाले ओलीलाई 'ब्राण्डिङ' गर्दै देशको अस्तित्व जोगाउन उनकै नेतृत्व आवश्यक पर्ने नारासहितको पोष्टर धमाधम सार्वजनिक गरिरहँदा पोखरेलतिरकाले देश र लोकतन्त्रको रक्षाका लागि दृढ र सन्तुलित नेतृत्व चाहिने भन्दै प्रचार सामाग्री बनाएको छ ।
दोहोर्याएर यौटै कक्षा नपढ्ने उतिबेलै घोषणा गरेका ओलीको अनिवार्यता पुष्टि गर्न संस्थापन निकट कार्यकर्ताले उनको व्यक्तित्वलाई मुख्य नारा बनाएको बुझ्न सकिन्छ । पहिले 'झोले अभियान'मा जस्तै पृष्ठभूमिमा उनको फोटो राखेर विभिन्न नारासहित उनीहरूले प्रचार अभियान चलाइरहेका छन् ।
'मेरो होइन माटोको बोली,फेरि एक पटक केपी ओली', 'जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व' लेखिएका पोष्टर बनाएर सञ्जालमा हालिरहेका छन् । केन्द्रीय पदाधिकारीदेखि गाउँ तहका कार्यकर्ताले त्यसमा आफ्नो पनि फोटो राखेर फेसबुकमा पोष्ट गरेको देखिन्छ ।
ओलीलाई तेहेर्याएर अध्यक्ष बनाउन संस्थापन पक्षले प्रचार तीव्र पारेपछि पोखरेल समूहले पनि काउन्टर दिइरहेको छ । 'जोगाउन लोकतन्त्र र देशको अस्तित्व,एमालेमा दृढ र सन्तुलित नेतृत्व' नारा लेखिएको ब्यानरमा पोखरेलको फोटो राखिएको छैन ।
संस्थापनले ओलीको प्रशंसा गर्दै प्रचार सामाग्रीमा उनको फोटोलाई विशेष हाइलाइट गर्दा इतर खेमाले भने पोष्टरको पृष्ठभूमिमा मदन भण्डारीको फोटो राखेको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य,गोकुल बाँस्कोटालगायत पोखरेल खेमामा खुलेका नेता-कार्यकर्ताले यो पोष्टर आफ्नो फेसबुकमा हालेका छन् ।
टिप्पणीहरू