कोरोनाले उदाङ्गिएको नेपाली मनोविज्ञान
यो लेख लेख्दासम्म विश्वभर २० लाख ४ हजार ९ सयभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख २६ हजारबढीको ज्यान गइसकेको छ । निको हुनेको संख्या ४ लाख ८५ हजारबढी छ । चीनको उहानमा गत नोभेम्बरमा देखिएको कोरोनाले संसारभर एक फन्को लागाइसेको छ अर्थात् २१० देशमा पुगिसकेको छ ।
ती देशमध्ये एक हो नेपाल पनि । नेपालमा हालसम्म १७ जनामा कोरोना संक्रमण पत्ता लागेको छ भने तीमध्ये एकजना निको भएर घर फर्केका छन् । गत चैत्र १० गतेदेखि शुरु बन्दबन्दी (लकडाउन) जारी छ । अझै बढ्ने अवस्था छ । यो आलेखमा कोरोनाले पटाक्षप गरेको नेपाली मनोविज्ञान र हाम्रो सामथ्र्यका बारेमा केही चर्चा गर्न खोजिएको छ ।
मर्नुभन्दा बौलाउनु बेस्ः
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चामा छन्,
१. राहत लिन जाँदा एक लाखबढी मूल्य पर्ने आइफोन हरायो ।
२. घर हुँदैमा के चाटेर खाने ?
३. काम गरेको ठाउँमा खानबस्न नपाएपछि सयौं किलोमिटर हिँडेर घर फर्किदै मजदुर ।
माघ ९ गते पहिलो संक्रमित भेटिएपछि नेपालमा कोरोना भित्रिसकेको पुष्टि भइसकेको थियो । त्यसको झण्डै दुई महिनापछि बन्दाबन्दी गरियो । चैत्र १० गतेदेखि गरिने बन्दाबन्दीको निर्णय दुई दिनअघि मात्रै दिइयो । दुई दिनमा घर फर्किन सजिलो थिएन । धेरैले लामोसमय बन्दबन्दी हुने आँकलन पनि गरेका थिएनन् । ज–जसले गरे दोब्बर भाडा र कालोबजारीयालाई सहयोग गरेरै भए पनि घर गए । नसक्नेहरु जहाँ छन् त्यही अड्कीय । मोहोल अनुकूल भएन । भोकले मर्नुभन्दा बौलाउनु बेस् भनेझै हिजोआज सयौं किलोमिटर पैदलै भए पनि थातथलोतिर जाँदैछन् ।
अब माथि उल्लेखित तीनवटा सन्दर्भ हेरौं
लकडाउन सुरु भएको केही दिनमै राहत वितरण पनि सुरु भइसकेको थियो । सडकमा काम गरेर बिहान बेलुकाको छाक टार्ने तर भकारी भर्न नसक्नेहरुलाई स्वभाविक रुपमा केही दिनमै राहत जरुरी होला । तर, राहतको लाइनमा माथि उल्लेखित पहिलो प्रवृति देखियो । यस सन्दर्भले नेपाली समाज कि त आडम्बरी बन्दै छ या त यहाँको शहरिया मनोविज्ञान असहिष्णु बन्दै गएको प्रतित हुन्छ । यति मात्रै होइन, आदिम सभ्यता र भविष्यका लागि जोहो गर्ने पूर्वीय मनोविज्ञानको पक्षपाती नेपालमा नागरिक तहमा विलासिताका लागि भकारी रित्तो राखेर भएपनि महंगो आइफोन बोक्ने प्रवति हावी हुँदै गएको प्रष्ट हुन्छ । एकाध दिन र हप्ताका लागि पनि भण्डार नगर्ने र गर्न नसक्ने दुबै अवस्था आधुनिक नेपालका लागि गम्भिर चुनौतिका विषय हुन् ।
दोस्रो सन्दर्भ थप डरलाग्दो छ । पढ्नका लागि काठमाडौंमा रहेको छिमेकी भाइले राहत दिन सुरु गरेको केही दिनमै वडा कार्यालय गएर भनेछ,‘मसंग भएको सकिनै लाग्यो, भाडामा बस्छु म पाउँछु कि पाउन्न ?’
हप्तादिन बित्दासम्म पनि एउटै जवाफ आइरहेको छ अरे, ‘हामी तपाईँ भएकै घरमा आउँछौं, बुझेर दिउँला ।’
अभिभावकले भारतमा नौकरी गरेर पठाएको पैसाले काठमाडौंमा टिकेको उसको स्रोत भारतमा लकडाउनले बन्द भइसकेको छ । यता उनको दिनचर्या राहत पाउने नभई आलिसान घरभएकाहरुले राहत लिइरहेको टुलुटुलु हेर्नुमै बितिरहेको छ ।
किन यस्तो भनेर सोध्दा जवाफ आउँछ, ‘के घर चाटेर खान मिल्छ ?’
ठिकै हो घर चाटेर खान मिल्दैन तर अन्य स्रोत नै नभएकाहरुजस्तो भोकले बौलाउने स्थिति होला र तिनलाई ?
घर हुनुको अर्थ टोल, समाज छ । टोल समाजमा अैचोपैचो चलाउन सकिदैन र ? त्यो घर देखाएर एकाध हप्ता र महिनाका लागि उधारोमा पनि खानेसक्ने विकल्प छ नि उनीहरुका लागि । तर, त्यसो किन गरिएको छैन ?
यसले पनि कि त नेपालको जनस्तरमा रहेको परम्परागत अैचोपैचो अर्थात सहयोगी भावना मर्दै गएको छ या त मानिसहरुमा ‘मै खाउँ मै लाउ’ को मनोविज्ञानले जरा गाड्दै छ ।
काठमाडौंबाहिरका एक जनप्रतिनिधिले त टोल, समाजका बलिया, हुने खानेले नै राहत लिष्टमा नाम लेखाउन झगडा गरेर हैरान बनाएको भनेर फेसबुकमा लेखेका थिए ।
समाजमा पहिलो र दोस्रो सन्दर्भमा संलग्न मानिसहरुको बोलवाला छ । प्रभाव पार्नसक्ने सामथ्र्य पनि उनीहरुसंगै छ । त्यसैमा सहयोगी भावना मर्दै गएपछि प्रताडित हुने उल्लेखित तेस्रो सन्दर्भका मानिसहरु नै हुन् ।
उनीहरुसंग भोलीका लागि जोहो गर्ने न भकारी छ न त बचत गर्ने आयश्रोत । आज कमायो, आजै खायो । संकट आएमा हुने त्यही हो । मर्ने या त बौलाउने । यद्दपि कोरोनाको कारण मर्ने अवस्था आइसकेको छैन तर भोकले बौलाउने अवस्था आएरै त होला पैदल हिँड्दै बाहिरिरहेका छन् मजदुरहरु । कल्पना गर्नुस् त बसमै जाँदा पनि खुट्टा सुन्निएर थलापर्ने दुरीमा पैदलको पीडा कति होला ?
अर्को डरलाग्दो पक्ष भनेको अहिले काम गरिखाने मजदुरले पनि दैनिक ५ सयदेखि एक हजारसम्म कमाउ छन् । तर, काम गरिखाने वर्गले त्यसको सदुपयोग किन सकिएको छैन ? संकटमा एकहप्ता धान्नसक्ने अवस्था पनि किन छैन ? खोजको विषय बनेको छ ।
यि तमाम अवस्था हेर्दा लाखौं नागरिक दुईचार दिन छाक धान्न नसक्ने, कंक्रिटहरुले भरिएका शहरमा पनि विलासिताका नाममा आत्माहरु मुर्छित बन्दै गएका र हाम्रा परम्परागत प्रणालीहरु जोहो गर्ने, अैँचोपैचो र सरसहयोगको अवस्था पनि संकटमा छ ।
गाउँ मोहः
पुँजीवादको उदयसंगै भूमण्डलीकरण फस्टाउँदो छ । संसार विश्वग्राममा परिणत भएको छ । ज्ञान, सीप र व्यवसायसंगै मान्छे भूमण्डलीकरणको सबैभन्दा बलियो हिस्सा भएको छ । यसबाट पहिलो विश्व अर्थात विकसित देशले धेरै लाभ लिइरहेका छन् । तर, हाम्रोजस्ता विकासोन्मुख अर्थात तेस्रो विश्वका देशहरु यस व्यवस्थाका उपभोक्ता मात्रै बढी भएकाले समस्या पनि यहीं धेरै निम्तिएका छन् । सबैभन्दा डरलाग्दो पक्ष अधिकांश विकासोन्मुख देशहरुमा ग्रामिण क्षेत्र र ग्रामिण सभ्यता तहसनहसको अवस्थामा छ ।
कतिपय ठाउँमा विकास पूर्वाधारले गाउँलाई शहरमा परिणत गरी दिएका पनि होलान्, तर नेपालजस्तो देशमा असन्तुलित विकासका कारण गाउँघर संकटमा छन् । गाउँघर खण्डहरमा परिणत हुँदै छन् । कतिपय मानिसहरु देशभित्रै शहरतिर भाँसिएका छन् । तर, बहुसंख्यक नेपाली बाध्यताले समृद्धिको सपना पछ्याउन देशभन्दा पर विदेशमा छन् ।
तथ्यांक अनुसार गएको १० वर्ष (आर्थिक वर्ष २०६४/०६५ देखि २०७५/७६ सम्म) मा ४६ लाख ४० हजारभन्दा बढी मानिसहरु बैदेशिक रोजगारीमा छन् । यो संख्यामा भारतमा गएकाहरुको लेखाजोखा नै छैन । तर, करिब १० लाखको हाराहारीमा नेपालीहरु भारतमा रहेको अनुमान गरिन्छ ।
नेपालमा गाउँसंगै गाउँमा रहेको सहयोगी भावना, मानवीयता, आथित्यता, निस्वार्थ सेवा भावसमेत कमजोर बन्दै गएको छ । सम्बन्धहरु केवल पैसामा तौल्ने मनोविज्ञान निर्माण भएको छ । विदेशीयकाहरुमा पनि त्यहाँ कमाएको पैसाले गाउँमा फर्केर समृद्ध जीवन बिताउने भन्दा पनि देशभित्रैका शहरमा घर घडेरी जोड्ने होडबाजी छ । शहरमा जमिन र घर नभएको मान्छे पनि के मान्छे भन्नेजस्तो जवर्जस्त मनोविज्ञान तयार भएको छ ।
बेलाबखत आइलाग्ने विपतीका कारण गाउँप्रतिको मोह जाग्ने गरेको छ । कोरोना कहरपछि गाँउघरतीर फर्किएकाहरुले सामाजिक सञ्जालमा पोस्ट्याइरहेका तस्वीरहरु त्यसका बिम्ब हुन् । तर त्यो शहरको जोखिम टार्न वा प्रतिरक्षाका लागि मात्रैजस्तो देखिन्छ । गाउँलाई पुनर्जीवन दिने संकल्प न नागरिकसंग छ न सरकारसंग ।
गाउँघरमा मान्छे नभएका होइनन् तर उनीहरुका केही रहर छन् धेरै बाध्यता । धेरै मान्छेहरु गाउँमा निर्वाहमुखी कृषिबाहेक आम्दानीको विकल्प नभएपछि बाहिरिएका हुन् । गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवाको अभाव पनि केही कारण हुन् । मूलरुपमा समृद्ध र सुरक्षित जीवनका लागि रोजगारीको खोजीमा मान्छेहरु गाउँ छोड्दै छन् ।
संकटमा फर्किनेहरुलाई सधैं त्यहीं बसौ लाग्दैन होला र ?
पुँजीवादले मान्छेलाई मेसिन र समाजलाई प्रयोगशाला बनाउँदै लगेको छ । पुँजीविना मर्नै नपाइने र मरेपछि लास पनि जलाउन नपाउने अवस्था छ । यसको सिधा अर्थ हो पैसा अपरिहार्य बनेको छ । के गाउँमा पैसा उत्पादन गर्ने अवस्था छ ? के गाउँ नछोडेका मानिसहरुलाई हेरेर संकटमा गाउँ फर्किएकाहरुलाई त्यहीं बसौबसौजस्तो लाग्ने अवस्था छ ?
मानिसहरुले पचासको दशकमा सुरु भएको माओवादी विद्रोहपछि गाउँ छोड्न थाले । त्यो निरन्तर बढ्दोक्रममा छ । असन्तुलित विकासको कारक मानिएको शासन व्यवस्थाको अन्त्य भइसकेको छ । अहिले गाउँगाउँमा सरकार छन् । गाउँगाउँमा सत्ता छ । तर, चाड पर्व र संकटमा गाउँ फर्केको मान्छेलाई गाउँमै बसौबसौ लाग्ने अवस्था बनाउन तिनले के के गरिरहेका छन् ? के तिनले गाउँमा नयाँ आशा जगाउने काम गर्न थालेका छन् ? हिजो निर्वाहमुखी कृषिका कारण पेट नभरिने र एकजोर लुगा लगाउन दशैं पर्खिने कति मान्छेका दिन फेरिए ? गाउँमै बसेका कति मानिसको जीवन शहर छिरेकाहरुको जत्तिको बन्यो ? वा शहरमा घरघरेडी नहुने पनि के मान्छेभन्ने मनोविज्ञान परिवर्तन हुँदैछ कि झन् गाढा ? मुग्लानमा कृषि फर्ममा काम गरे वापत मनग्य कमाउने मान्छेले देशमै कृषि गरेर कमाउने स्थिति कति बन्यो ? त्यसका लागि सरकारले नीति, पूर्वाधार र सोचमा कति सुधार ग¥यो ?
उल्टै गाउँमा बसेर सहरबाट गएको दुध, तरकारी खाने, घरको सदस्य शहर वा मुग्लान नभएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था छ । गाउँमा रोड त बनेका छन् होलान् । तर, हिजोको कुलाकुलेसाका निसान भेटिने तर त्योभित्र जीवन नभेटिने अवस्था बनेको यथावत छ ।
गाउँमा कि ठेकेदार, कि सरकार र दलका प्रतिनिधि कि त मुग्लान छिरेको छोराले पठाएको रेमिट्यान्सले चामल किनेर खाने अभिभावक र तिनमा आश्रित परिवार भेटिन्छन् । विदेशबाट फर्किएर कुखुरा, गाईभैसी पालन गरिरहेकाहरुले संकटको बेला कुखुरा खाल्डोमा पुर्नुपर्ने, दुध सडकमा फाल्नुपर्ने र तरकारीले त सामान्य अवस्थामा पनि मूल्य नपाएर कुहिनुपर्ने बिडम्बना छ । यसैकारण विदेशीयका एकाध युवाहरुको सिको गर्दै गाउँ नै रित्तिने अवस्था अहिलेसम्म पनि कायमै छ ।
यसर्थ संकटको बहानामा भए पनि गाउँ छिरेको मान्छेलाई त्यहाँको जीवन देखेर लोभ लाग्ने अवस्था नबनाएसम्म न गाउँ बन्छ न त गाउँको संस्कार बँच्छ । केवल आइफोन खल्तिमा हालेर संकटमा राहत थाप्ने अवस्था झागिन्छ । संकट पर्दा मात्रै गाउँ सम्झिने मनोविज्ञान रहन्छ । अनि कसरी बन्छ गाउँ ? यो तोड्न गाउँमा रहेका सरकारले विलासीतासंग जोडिएका पूर्वाधारभन्दा जीवन धान्ने उपायहरुमा लगानी गर्न जरुरी छ । केही हजार कमाउनका लागि शहर छिरेका मानिसहरुलाई गाउँमै कमाउने उपायहरु सिकाउन र सम्भावना देखाउन जरुरी छ । गाउँमा रहेका केही मान्छेहरु र नेता, कार्यकर्ताहरुलाई परिचालन गरेर भए पनि बाझा खेतहरुमा पैसा फलाउने अभियानको सुरुवात गर्नु पर्दछ । स्थानीय उद्यमशीलतालाई प्रवद्र्धन गरी शहरको विकल्पका रुपमा गाउँलाई निर्माण गर्न सबैको सत्प्रयास आवश्यक छ ।
सरकारको सामथ्र्यः
नागरिकहरु बलियो भयो भने सरकार पनि बलियो हुन्छ । बेलाबखत आइपर्ने संकटले नागरिकको अवस्था त दर्शाउछ नै सरकार हुनुको अर्थ र उसको सामथ्र्य पनि सिद्ध गर्छ ।
सामान्यतयाः नागरिकले कि त असुरक्षा र संकटको बेला अभिभावकका रुपमा या त कर तिर्ने बेला नियन्त्रकको रुपमा सरकारलाई सम्झिने गर्दछन् ।
योभन्दा बाहेक नागरिकले आफै कमाउछन्, खान्छन् र रमाउँछन् । तर संकटको बेला दोस्रो विकल्प रहन्न केवल माथिल्लो विकल्प मात्रै बाँकी रहन्छ । नागरिकले सरकारबाट अपेक्षा गर्ने यस्तै बेला हो । आफ्नो कमाइको केही हिस्सा सरकारलाई दिनुको अर्थ पनि सरकारले संकटमा सहारा दिन्छ भनेर नै हो ।
तर, कोरोनाले नेपालमा सरकार र नागरिक दुवैको अवस्था उदांगीएको छ । घर भएका र निश्चित ठाउँमा रहेका नागरिकहरुलाई संकट परेको दुई तिन दिनमै राहत दिनुपर्ने अवस्था छ । अधिकांश नेपालीहरुमा संचित क्षमता दयनीय रहेको प्रष्ट भयो । यो संगसंगै खान नपाएर सोलुखुम्बुबाट कैलाली, काठमाडौंबाट कर्णाली हिँडेरै जान विवश जनतालाई ‘जहाँ छौ त्यही बस् सरकार छ’ भन्ने अवस्था रहेन । कार्यस्थलमा मात्रै होइन दशौंदिन लगाएर थातथलोमा जाने नागरिकले सयौं किलोमिटर हिँड्दा पनि बाटोमा कतै सरकार नभेटाउने अवस्था देखियो । सरकारसंग आफ्ना नागरिकमध्ये कतिलाई राहत चाहिन्छ वा कतिलाई चाहिदैन भन्ने तथ्यांक पनि छैन । यस्तो तथ्यांक राख्न न यो सरकारले आवश्यक ठान्यो न अघिल्ला सरकारले । यसै कारण राहत दिने काम पनि अध्यारोमा ढुङ्गा हानेजस्तै भइरहेको छ ।
स्वास्थ्य पूर्वाधारमा निजी लगानी बढेर हैन सरकारी स्वामित्वको स्वास्थ्यले मात्रै संकटको सामना गर्न सकिन्छ भन्ने पटाक्षप भएको छ । निजी गोदामहरु जत्ति नै भरिभराउ भए पनि खाद्य संस्थान पनि बलियो हुन जरुरी छ भन्ने सिकाएको छ ।
सरकारले कसरी धान्छ ?
कोरोनाका कारण विश्व नै संकटग्रस्त छ । अरु देशको तुलनामा नेपाल केही हदसम्म सुरक्षित देखिन्छ । अझैसम्म औषधी पत्ता लाग्न नसकेकाले सबै देशहरुले अपनाएको लकडाउन नीति पनि लम्बिने देखिन्छ । यहि त्रासले वैदेशीक रोजगारीमा रहेकाहरु नेपाल भित्रिने मनस्थितिमा छन् ।
भारतमा रहेका नेपालीहरु त जुनसुकै बेला पनि नेपाल फर्किन सक्छन् । यहिले धेरै नेपालीहरु सीमानाकामा आएर अड्कीएका छन् । मानिलिउ लाखौंको संख्यामा नेपालीहरु स्वदेश फर्किन चाहेमा नेपालले कसरी धान्छ ? यसतर्फ यथोचित ध्यान जान जरुरी छ ।
यसर्थ, कारोनाले एकाध महिनामै हाम्रो विकासको अवस्था प्रष्ट भएको छ । केही दिनका लागि पनि संचित गर्न नसक्ने नागरिकको संख्या बढ्दै छ । अरु बेला संकट अपरझट आउथ्यो र निश्चित समयपछि जनजीवन सामान्यीकरण पनि हुन्थ्यो । तर अहिले अवस्था फरक छ । चैत्र १० गतेपछि भएको बन्द बैशाख १५ सम्म पु¥याउँदा पनि समस्या टुंगिने कुनै निश्चित छैन । यस्तो अवस्थामा तत्काललाई संकट व्यवस्थापनका उपयुक्त वैकल्पिक उपायहरु अवलम्बन गर्न जरुरी छ । दीर्घकालिन रुपमा नागरिक र ग्रामिणक्षेत्रलाई बलियो बनाउने उपायको खोजी गर्नुको विकल्प छैन । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
टिप्पणीहरू