स्त्री–पुरुषलाई भोगको साधन बनाइएको समय

स्त्री–पुरुषलाई भोगको साधन बनाइएको समय

प्राचीन ग्रीसमा इशापूर्व ६०० मै वेश्यालय स्थापना भइसकेको थियो । सरकारले त्यहाँबाट करसमेत उठाउँथ्यो । त्यो बेला एथेन्स युरोपेली ब्यापारको प्रमुख केन्द्र थियो । विवाहित हुन् वा अविवाहित सबै व्यापारी वेश्यालय पस्थे ! वेश्यावृत्ति निकै फस्टाएकाले यो पेशा अपनाउन अन्य मुलुकबाट पनि स्त्री ग्रीस पुग्थे । ३० वर्ष नाघेपछि मात्र पुरुषको बिहे हुन्थ्यो । बिहेपछि मैथुनमा पारंगत हुन युवकको पहिला वेश्यालय पुग्ने गर्थे ।

वेश्या दुईथरीका हुन्थे । वेश्यालयमा बसेर ग्राहकको प्रतीक्षा गर्ने, सडक किनार र गल्लीमा बसेर ग्राहक खोज्ने पोर्नेहरू । यही शब्दबाट पोर्नोग्राफी (अश्लील साहित्य) शब्दको जन्म भएको मानिन्छ । पोर्नैहरू सस्तो मूल्यमा ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्थे । अर्कोथरी हुन्थे स्तरीय नगरवधु ‘हेताइराइ’ । यिनीहरू ग्राहकबाट चर्को मूल्य असुल्थे । त्यसबेलाकी चर्चित नगरवधु हुन् – आपासिया, जो पछि एथेन्सका लोकप्रिय राजनेता पेरिकल्सकी पत्नी बनिन् । अर्की चर्चित थिइन् – फिलाइनिस, कामुक चित्र बनाउनमा माहिर । रोममा पनि ग्रीसकै नक्कल गरी वेश्यावृत्ति फस्टायो । त्यतिबेलै त्यहाँ पुरुष वेश्या थिए । हृष्टपुष्ट शरीरका केटालाई स्त्रीहरू रुचाउँथे । इशापूर्व ३४५ – ३४६ तिर पुरुष वेश्या तिमार्कसको खुब माग थियो ।

फ्रीन पनि एक नगरवधु हुन् । एथेन्समा जन्मेकी र त्यही वेश्यावृत्तिको धन्दा अपनाएकी । सानै उमेरमा चर्चित बनिन् र यही पेशाबाट अकुत कमाइन् । ग्रीसभरिकै सबैभन्दा धनी स्त्री बनिन् । मोडलिङ पनि गरिन् । त्योबेलाका चर्चित चित्रकार एपेलेक्स र मूर्तिकार प्राक्सितेलेसले उनको नग्न चित्र र मूर्तिहरू धेरै बनाए ।

फ्रीनको जन्म इशापूर्व ३७१ मा बोएसियामा भएको हो । ग्रीक इतिहासकार प्लुटार्च र एथेनिउस दुबैजनाले फ्रीनको वास्तविक नाउँ म्नेसारेट भएको र उनी एपिकल्सकी छोरी रहेको दावी गरेका छन् । प्लुटार्चले भ्यागुताको जस्तो पहेंलो वर्णको छाला भएकीले उनलाई बोलाउने नाउँ फ्रीन रहन गएको भनेका छन् । पछि धेरै वेश्याले आफूहरूलाई फ्रीनकै नाउँबाट चिनाउन थाले । फ्रीनको बाल्यकाल गरिबीमै बित्यो । इशापूर्व ३३५ मा अलेक्ज्याण्डर महानले थेबेस शहरलाई तहसनहस पार्दा उनले बनाइदिने प्रस्ताव राखिन् । नभन्दै शहरको चारैतिर अग्ला पर्खाल निर्माण गरिदिइन् । र, त्यसबापत डेल्फीमा तामाबाट निर्मित आफ्नै शालिक पनि ठड्याइन् ।

फ्रीन अब्बल दर्जाकी वेश्या हुन् भन्नेमा कसैको दुईमत छैन । तर, उनी त्यसबेलाका अन्य नगरवधुको तुलनामा भिन्न थिइन् । अधिकांश पोर्नै हुन् वा हेताइराई पुरुषलाई आकर्षण गर्न अर्धनग्न भई बस्थे । ग्राहकलाई तान्न अश्लील हाउभाउ गर्थे । फ्रीन त्यसो गर्दिनथिन् । उनी आफ्नो शरीर ढाक्नेगरी पहिरन लगाउँथिन् । यसो गर्नुको पछाडि कुटिल चाल लुकेको हुन्थ्यो । उनी चाहन्थिन् पुरुषहरु लुगाले ढाकेको उनको सुडौल शरीर हेर्न र छुन ब्याकुल बनुन् । प्राचीन ग्रीस र रोमका प्रायः स्त्रीहरू सार्वजनिक स्थलमा नुहाउँथे तर उनले कहिल्यै त्यसो गरिनन् ।

एकदिन उनीमाथि दोष लाग्यो । राज्यले ईश्वरीय वस्तुमाथि उपहास गरेको, ती वस्तुलाई अपवित्र पारेको र अधर्मी काम गरेको आरोप लगायो । मुख्यतः तीनवटा आरोप लागेमध्येको एउटा नयाँ देवताका नाममा धार्मिक समूह बनाई हिँडेको भन्ने थियो । उनले सिर्जना गरेको नयाँ देवताको नाउँ हो– हार्पोकृयसन । यो मेसेडोनियाका सम्राट् अलेक्ज्याण्डरको ग्रीक संस्करण थियो । प्राचीन एथेन्समा हाइपराइडसलाई नामी गद्यलेखक मानिन्थ्यो ।

अदालतमा उनले फ्रीनको पक्षमा बहस गरे । बहस चल्दै गर्दा हाइपराइडसलाई लाग्यो कि सरकारी वकिलको तर्क तगडा छ, त्यसैले फैसला फ्रीनको विपक्षमा आउने निश्चित छ । उनले फ्रीनलाई जिताउन न्यायाधीशहरूलाई बसमा पार्ने नयाँ उपाय सोचे । र योजनाअनुरूप अन्तिममा फ्रीनले लगाइराखेको लुगा तानेर नंग्याइदिए । फ्रीनको स्तन यतिबिघ्न सुडौल र राम्रो थियो कि त्यसलाई देखेपछि न्यायाधीशहरू अचम्ममा परे । उनको सुन्दरताबाट मन्त्रमुग्ध उनीहरूले त्यत्तिकै आधारमा मुक्त गर्ने आदेश सुनाइदिए । फ्रीन प्राणदण्ड पाउनबाट बचिन् । स्मरणीय छ, हाइपराइडस फ्रीनकी थुप्रै प्रेमीमध्येका एक हुन् ।

फ्रीनको निधन ५५ वर्षको उमेरमा इशापूर्व ३१६ मा भयो । उनी नग्न चित्र कोर्ने असंख्य चित्रकारहरूका प्रेरणाको श्रोत हुन् । विश्वका नामी चित्रकार र मूर्तिकारले उनको चित्र र मूर्ति बनाएका छन् । चाल्र्स बौडेलरजस्ता फ्रान्सिसी कविले त रुपको गुणगान गर्दै कवितासमेत रचेका छन् । अर्का फ्रान्सिसी कम्पोजर क्यामिल्ला सेन्ट सिन्सले उनको जीवनीमा ओपेरा सिर्जना गरेका छन् । कतिपय आधुनिक लेखकहरूले उनले खेपेको मुद्दाको विषयमा आ–आफ्नै कोणबाट उपन्यास लेखेका छन् । तर, जसले चित्र कोरे पनि, मूर्ति बनाए पनि वा उपन्यास लेखे पनि सबैले उनको सुन्दरताको बयान गर्न भने छोडेका छैनन् । सबैको दृष्टिकोणमा उनी एक अद्वितीय सुन्दरी वेश्या थिइन् ।

ताइस ग्रीसकी अर्की यौनकर्मी हुन् । एथेन्सकी ताइस मेसेडोनियाका सम्राट अलेक्ज्याण्डरले विश्वविजय प्राप्त गर्ने अभियानमा सँगै हिँडेकी थिइन् । यथार्थमा उनी अलेक्ज्याण्डरका सैनिक जनरल टोलेमी सोटरकी प्रेमिका थिइन् । विश्वविजय अभियानको दौरान उनलाई अलेक्ज्याण्डरले पनि आफ्नी प्रेमिका बनाए र कतिपय रात सँगै बिताए । इरानको शहर पेर्सेपोलिसलाई जलाउँदा उनी अलेक्ज्याण्डरसँगै थिइन् । ताइस अलेक्ज्याण्डरसँग डराउँथे, त्यसैले आफ्नी प्रेमिकालाई मालिकले वासनाको शिकार बनाउँदा पनि चुपचाप बस्थे । जब अलेक्ज्याण्डरको निधन भयो टोलेमीले ताइससँग बिहे गरिहाले । पछि ताइस ३ सन्तानको आमा बनिन् । टोलेमी जब मिश्रको राजा बने उनले ताइसलाई नै रानी घोषित गरे ।

उता, रोममा पुरुष वेश्यागमन गर्न जाने कुरोलाई सामान्य रुपमा लिइन्थ्यो । त्यहाँ भिनस, आइसिस, पृयापस तथा अन्य यौन देवी देउताकोमा चढाउने केक पुरुष र स्त्रीको यौनांगजस्तो बनाउने गरिन्थ्यो । वेश्याहरूका अनेक नाउँ हुन्थ्यो, वस्तुआरिया, कोपे, टवेर्निया, फोरारिया, फेमोसे, नानी आदी । नानी ती वेश्या हुन् जसको उमेर निकै कम हुन्थ्यो, यहाँसम्म कि ६ वर्षकी बालिका पनि । रोममा वेश्यालाई लुपा भनेर बोलाउने गरिन्थ्यो भने वेश्यालयको नाउँ हुन्थ्यो ’लुपानार’ । रोममा पहिलो लुपानार पोम्पेइ शहरमा खोलिएको हो । इशापूर्व ६ सयको समयकालमै विकसित शहर बनिसकेको पोम्पेइ वर्तमानमा इटलीको नेपल्स शहर नजिक पर्छ । त्यतिबेला वेश्यालयको भित्तामा अश्लील चित्रहरू लेखाउने चलन थियो ।

रोमको पोम्पेइमा मात्र वेश्यालय चलाउने उद्देश्यले बनाइएका लुपानार ३५ वटा थियो । त्यसबेला उक्त शहरको जनसंख्या १० हजार थियो अर्थात् प्रत्येक २ सय ८६ जनाको लागि र प्रत्येक ७१ जना वयस्क पुरुषको लागि एउटा वेश्यालय । लुपानार खासै ठूलो घर हुन्नथ्यो । थोरै कोठा हुन्थ्यो । कोठाको बाहिर भित्र कोठामा बसिरहेकी यौनकर्मीको शुल्क झुन्ड्याइएको हुन्थ्यो । किनभने युवतीको उमेर, शरीरअनुसार शुल्क भिन्नभिन्न तोकिएको हुन्थ्यो । सबैभन्दा ठूलो लुपानार नै १० कोठाको थियो । अधिकांश यौनकर्मी अनपढ हुन्थे । लुपानारमा कार्यरत यौनकर्मी स्त्री मात्र हुन्नथे । पुरुष, समलिंगी, तेस्रोलिंगी सबै खालका हुन्थे । वेश्यालयमा दलालहरू हुन्थे । राज्यले यौनकर्मी, वेश्यालय, दलाल सबैबाट कर असुल्थ्यो । बलात्कारलाई भने अपराध मानिन्थ्यो ।

टिप्पणीहरू