माओवादीको र्यालीमा गएका एमाले कार्यकर्ताले कुटाई खाए
कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको कुटाईबाट एमाले कार्यकर्ता घाइते भएका छन् । माओवादीको चुनावी र्याली बिथोल्न खोजेको आरोपमा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरीले कुटाइ खाएकी हुन् ।
माओवादी कार्यकर्ता रुखवीर धामी र विरेन्द्र चन्दले भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटामा चौधरीमाथि हमला गरेको एमालेको आरोप छ । कुटपिटपछि घाइते भएकी उनलाई लगत्तै अस्पताल लागिएको थियो । चौधरीको टाउको र छातीमा चोटपटक लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने सामान्य विवाद मात्रै भएको बताए । ‘आज बागफाँटामा माओवादीको र्यालीमा एमाले कार्यकर्ता गएको भन्दै सामान्य विवाद भएको हो’, उनले भने, ’त्यस्तो ठूलो घटना होइन ।’ डीएसपी शाहले आरोपित धामी र चन्दलाई पक्राउ नगरिएको बरु छलफलको लागि प्रहरीले दुवै पक्षलाई बोलाएको जानकारी दिए ।
कुटाई खाने एमाले कार्यकर्ता चौधरी यसअघि माओवादी केन्द्रमा आबद्ध थिइन् ।
टिप्पणीहरू