केटाकेटीको खेल हो र वैवाहिक सम्बन्ध ?

केटाकेटीको खेल हो र वैवाहिक सम्बन्ध ?

विवाह मानव जीवनका धेरै वटामध्येको एउटा पवित्र संस्कार हो । मानव जीवन र समाजलाई निरन्तरता दिन, कुल–वंश अगाडि बढाउन विवाहको महत्वपूर्ण भूमिका हुन्छ । मुलुकी देवानीसंहिता ऐन २०७४ को दफा ६८ मा विवाहलाई अनतिक्रम्य सामाजिक बन्धन भनिएको छ । यो पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एउटा स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुने भनेर परिभाषित गरिएको छ ।

नेपालमा धेरै किसिमका विवाह हुन्छ । तैपनि मागी, भागी र प्रेम विवाह बढी प्रचलनमा छ । कानुनी प्रक्रिया पु¥याएर पनि विवाह गर्न सकिन्छ । जिल्ला अदालतको कानुनी ढड्डामा विवरण दर्ता गराएर पनि विवाह गर्न मिल्छ । विवाह पुरुष र महिलाबीच सहमतिमा हुने भए पनि पछिल्लो समय असमझदारीका कारण सम्बन्धविच्छेद बढ्दो छ ।

श्रीमान् र श्रीमतीबीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तरिकाले अलग हुने कानुनी आधारलाई नै सम्बन्धविच्छेद भनिन्छ । पति र पत्नीबीच बढ्ने सामान्य मनमुटावबाटै छोटो समयमै असल सम्बन्धले विच्छेदको रूप लिन सक्छ । नेपाली समाजमा पनि सम्बन्धविच्छेद भुसमा आगो झैँ फैलिरहेको छ । पारिवारिक बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको संख्या क्रमिक रूपमा बढेको पाइन्छ । सानातिना झगडा र बेमेलको निहुँमा सम्बन्धविच्छेद गर्न हतारिने जोडी पनि उत्तिकै देखिएका छन् ।

पश्चिमा संस्कृति, भूमण्डलीकरण र अरुको देखासिकीले नेपाली जोडी र दम्पतीलाई समेत टिक्न सकस पर्ने अवस्था निम्तिएको छ । हिजोआज प्रेमिलो जीवन कतिखेर अमिलो बनिदिन्छ भन्न सक्ने स्थिति नै छैन । सानो उमेरमा विवाह, परिवारबीच असमझदारी नै सम्बन्धविच्छेदको प्रमुख कारक हो । वैदेशिक रोजगारीले पनि पति पत्नीको सम्बन्धमा धेरै खटपट पैदा गरेको बताइन्छ ।

विदेश गएपछि पति वा पत्नी परपुरुष वा परस्त्रीसँग लहसिने भएकाले सम्बन्धविच्छेदका घटना बढेको पाइन्छ । जथाभावी शारीरिक सम्बन्ध राख्दा श्रीमान् र श्रीमतीबीचको असल सम्बन्ध बिग्रिएका घटना हाम्रो समाजमा थुप्रै देखिन थालेको छ । त्यसैगरी, अध्ययनका लागि बिदेसिनेले पनि पहिले विवाह गर्ने र पछि छुट्टिने क्रम बढिरहेको छ । सानो उमेरमा विवाह गर्ने र परिपक्व भएपछि अलग हुन खोज्नेको संख्या झन् उत्तिकै छ ।

ललितपुर जिल्ला अदालतमा मात्रै पनि गएको वर्ष पाँच सय ६४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । त्यसैगरी, २०७९ को वैशाख ११ गतेसम्म १५ वटा मुद्दा दर्ता भएको अदालतको तथ्यांकले देखाउँछ । विवाह गरेको वर्षदिन नपुग्दै सम्बन्धविच्छेद गर्नेको संख्या ह्वात्तै बढेको छ । जुन नेपाली समाजका लागि शुभ संकेत होइन । नयाँ पुस्ता, आधुनिक प्रविधि र नवीनतम सोचाइको कारण नेपालमा सम्बन्धविच्छेदले प्रश्रय पाउन थालेको हो । अरु मुलुकको सभ्यता र संस्कृतिको सिको गर्दा समाजमा विकृति फैलिएको भन्नेहरू पनि छन् । मन लागे बस्ने, नलागे छाड्ने प्रवृत्तिले व्यापकता पाएको छ ।

हुनतः सम्बन्धविच्छेदका राम्रा र नराम्रा दुवै पाटा छन् । उत्पीडनबाट उन्मुक्ति पाउनका निम्ति पनि महिलाले सम्बन्धविच्छेदको बाटो रोजेको भन्न थालिएको छ । श्रीमान्बाट हुने मानसिक यातना, शारीरिक शोषण खेप्न नसकेपछि सम्बन्धविच्छेद गर्न चाहनेहरू धेरै देखिएका छन् । एक्काइसौं शताव्दीमा आइपुग्दा महिलाहरू पेशाले सक्षम र आर्थिक रूपमा आफ्नै गोडामा उभिनसक्ने भइसकेका छन् । उनीहरूमा धेरै ज्ञान र चेतना बढेको छ । शैक्षिक योग्यता भएका महिलाहरू कसैको दबाबमा बस्न नचाहने भएकाले पनि उनीहरूले सम्बन्धविच्छेदलाई पहिलो प्राथमिकता दिएको भनिन्छ ।

महिला सशक्तिकरण सम्बन्धविच्छेदको जल्दोबल्दो कारण बनेको छ । कानुनले महिलालाई स्वतन्त्रताको हक दिएसँगै त्यसको उपयोग गर्नेको संख्या बढेको कानुन व्यवसायीहरू बताउँछन् । पहिले घरेलु हिंसा भए पनि महिलाहरू चुपचाप बस्ने भएकाले सम्बन्धविच्छेद न्यून थियो । तर, पछिल्लो समय महिलाहरू आफ्नो न्यायका लागि खुलेरै लागिपरेका छन् । अनुचित कार्य, अन्याय र अपमान गर्नेहरूलाई सजाय दिनुपर्छ भन्ने आवाज महिलाहरूले उठाइरहेकाले पनि सम्बन्धविच्छेदको बाटो अपनाउनेहरू धेरै छन् ।

पति र पत्नीको छोडपत्र भइसकेपछि धेरै बालबच्चाको बिजोगसमेत हुने गरेको छ । छोडपत्रको बेला बालबच्चा बुवा वा आमामध्ये कोसँग रहने भन्ने विषयमा विवादसमेत हुने गरेको छ । तर, बालबच्चालाई कोसँग जाने ? भनेर उसको इच्छा सोधिँदैन । दुई रथका एक पाङ्ग्रा भनेर चिनिने श्रीमान्–श्रीमतीमा बेमेल आउँदा समाजले छुट्टै मोड लिइरहेको छ । छोडपत्रले टुक्रे समाजको विकास भएको छ । भ्रातृत्वलाई मार्ने काम भइरहेको छ । घरभित्र पनि एकता छैन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बढ्दो सम्बन्धविच्छेदले घरभित्र पनि एकता कायम नभएको देखाएको जनाएको छ । इन्सेकका सम्पादक रमेशप्रसाद तिमल्सिनाले स्वाभिमान र स्वतन्त्रताका कारणले छोडपत्रका घटनाहरू बढेको जानकारी दिनुभयो । विदेशिने क्रमले पनि केही प्रतिशतसम्म सम्बन्धविच्छेद भएको उहाँको भनाइ छ ।

राष्ट्रिय महिला आयोगले मासिक एक दर्जन बढी सम्बन्धविच्छेदका घटनाहरू आउने जानकारी दिएको छ । आयोगको उजुरी तथा मुद्दा व्यवस्थापन शाखाकी चमिला भट्टराईले दिनमै पाँच वटासम्म यस्ता घटना आउने गरेको बताउनुभयो । प्रेममा परेपछि भागेर विवाह गर्ने र बानी व्यवहार थाहा पाएपछि छुट्टिन खोज्ने प्रवृत्तिले सम्बन्धविच्छेद गर्नेको क्रम बढेको उहाँको बुझाइ छ । महिलाहरूले अंशका निम्ति विवाह गर्ने र पछि छोडपत्र गरी माइती गएर बस्ने गरेका थुप्रै घटना आयोगमा दर्ता भएको छ ।

अधिवक्ता राधिका खतिवडाले सम्बन्धविच्छेद कानुनले दिएको अधिकारको उपयोग भएकाले यसलाई विकृति भन्न नमिल्नेमा जोड दिनुभएको छ । सम्बन्धविच्छेदले समाजको वास्तविक रूप छर्लङ्ग पारेको उहाँको तर्क छ । सम्बन्धविच्छेद स्वतन्त्रताको आधार भएको अधिवक्ता खतिवडाको दाबी छ ।

टिप्पणीहरू