घटाउने–बढाउने

घटाउने–बढाउने

यता चुनावको मतगणना भइरहेकै बेला उता पेट्रोलको भाउ बढेछ । तर दुःखको कुरा, भाउ बढेको कुरा न नेताहरूलाई थाहा छ, न कार्यकर्तालाई । नेताहरूलाई चाहिने चुनाव हो । अहिले त्यही चुनावको नतिजा आइरहेको छ । यस्तो बेला कसले देओस् बजार भाउतिर ध्यान !

तैपनि यसबारे नेताहरूको राय त बुझ्नुप¥यो नि । त्यही राय बुझुँ भनेर म एकजना वरिष्ठ कांग्रेसी नेताको घरमा गएको थिएँ । नेताज्यू करिब करिब व्यस्त नै हुनुहुन्थ्यो । उहाँ टेलिभिजनमा नतिजा हेर्दै हुनुहुन्थ्यो । मैले सोधिहालेँ, ‘नेताज्यू, पेट्रोलको भाउ ह्वात्तै बढेछ । यो त अचाक्ली भएन ?

उहाँले भन्नुभयो, ‘खोइ त्यति बढेको देखिएन । हाम्रो हिसाबले यो अझै बढ्नुपर्ने थियो । यति बढेर हुँदैन । यही बढाउन हामीले त्यत्रो गठबन्धन बनाएका थियौँ । तर काम लागेन ।’

नेताजीको कुराले म चकित भएँ । कहाँको कुरालाई उहाँ कहाँ जोड्दै हुनुहुन्छ । त्यसपछि म लागेँ प्रमुख प्रतिपक्षी एमाले नेताको घर । एमाले नेता पनि टिभीको नतिजामै केन्द्रित भइरहनुभएको थियो । मलाई देखेर उहाँले भन्नुभयो, ‘ओहो, आज कताबाट नि ? सभागृहबाटै ?’ मैले भनेँ, ‘होइन, म त यो पेट्रोलको भाउ किन बढ्यो भनेर सोध्न आएको । भाउ त खुबै बढाइएको रहेछ ।’

नेताजीले झ्वाट्टै भन्नुभयो, ‘कहाँ बढेको छ र ? पहिलेभन्दा त धेरै घटेको छ । यो भन्दा त झनै बढ्नुपर्ने थियो । खोइ केही गर्दा पनि बढेन । यति बढेको त धन्य भन्नुपर्छ । हेरौं, पाँच सात बाकस अझै बाँकी छ, त्यो पनि खन्याएपछि अलि बढ्ला कि ?’

यहाँ पनि केही होलाजस्तो लागेन । हामी बढेकोमा चिन्तित छौँ, उहाँहरू घट्ला भनेर चिन्तित हुनुहुन्छ । कसरी हुन्छ तालमेल ?

टिप्पणीहरू