यार्सा पुर्याएर छात्रामाथि पटक पटक करणी, अनुसन्धानमा अझै ढिलासुस्ती

यार्सा पुर्याएर छात्रामाथि पटक पटक करणी, अनुसन्धानमा अझै ढिलासुस्ती

पछिल्लो समय महिलाहरु थप असुरक्षित रहेको घटना सार्वजनिक भइरहेका छन् । घर, विद्यालयलगायत अधिकांश स्थानमा छोरीचेली असुरक्षित हुन थालेको पाइएको छ । शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेका घटना पनि प्रायः बाहिर आइरहेका छन् । 

गत फागुन १७ गते दोलखाको जिरी नगरपालिका वडा नम्बर २ बौद्धको भुमेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रामाथि जबरजस्ती करणी भएको थियो । स्थानीय कालीदेवी आधारभूत विद्यालयमा करार सेवामा कार्यरत शिक्षक गोविन्द ओलीले ती नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप छ । 

शिक्षक ओलीले दिनहुँ विभिन्न प्रलोभनमा फकाउँदै जिरी बजारस्थित लिंकनको यार्सा होटलमा पुर्याएर जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । 

नाम परिवर्तित पीडित भनिएकी (फूलमाया बुढाथोकी) ले दुई दिनसम्म आफूलाई होटेलमा राखेर ओलीले पटक पटक करणी गरेको बताइन् । त्यसपछि आफू सहन नसक्ने अवस्थामा पुगेपछि आमासँग उक्त कुकृत्यबारे सबै खुलाएकी हुन् । 

सोही आधारमा गत फागुन २७ गते उनकी आमाले जिल्ला प्रहरी कार्यालय चरिकोटमा जाहेरी दर्ता गरिन् । तर, उजुरी दर्ता गरेको एक महिना बितिसक्दा पनि आरोपित कानूनको दायरमा आउन नसकेको पीडितको गुनासो छ । 

प्रहरी आफैंले पो अनुसन्धानमा ढिलासुस्ती गरेको हो कि भन्नेमा समेत आफूहरुलाई शंका लागेको पीडित र उनकी आमा बताउँछन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायक उपरीक्षक (डिएसपी) दिपक खड्काले यस विषयमा थप बुझ्ने क्रम जारी रहेको उल्लेख गरे । 

उनले भने, ‘किशोरी बलात्कारको उजुरी दर्ता भइसकेको छ । अहिले अनुसन्धान जारी छ । तर, हालसम्म प्रतिवादी फेला पार्न सकिएको छैन ।’ यता पीडित नाबालिका भने न्याय नपाइने पीरमा दिनरात चिन्तामा पिरोलिएर विद्यालय समेत नगएको बताइएको छ ।

टिप्पणीहरू