अर्थमन्त्रीको घरमा नारा लगाउने कोशिश,ब्रोकर अफिस बन्द गराउन दर्जनौं दलालको दौड

अर्थमन्त्रीको घरमा नारा लगाउने कोशिश,ब्रोकर अफिस बन्द गराउन दर्जनौं दलालको दौड

आगामी आर्थिक वर्षका निम्ति घोषित बजेटको नयाँ व्यवस्थाले पुँजीबजार र घरजग्गा कारोबारमा असर परेको भन्दै सेयर र घरजग्गा लगानीकर्ताहरुले विरोध कार्यक्रम आयोजना गरेका छन् । तिलक कोइरालाको नेतृत्वमा एउटा टोली आज बिहान महाराजगञ्जस्थित अर्थमन्त्री डा. प्रकाशशरण महतको निवास घेर्न पुगेकोमा सुरक्षाकर्मीको अवरोधपछि फर्केको छ ।

सुरक्षाकर्मीले रोकेपछि झण्डै पाँच दर्जनको संख्यामा रहेका सेयर दलाल र लगानीकर्ताहरुले बाँसबारीस्थित राष्ट्रिय हृदयरोग केन्द्र बाहिर कोणसभा गरेका छन् । बिहान साढे ७ बजे आयोजित कार्यक्रममा उनीहरुले अहिले १० बजेपछि सबै सेयर ब्रोकर कार्यालय पुगेर पोष्टर टाँस्ने,तालाबन्दी गर्ने र दिउँसो ३ बजेपछि माइतीघरमा चियापानसहित विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन् । 

उता काठमाडौं उपत्यका बाहिरका ब्रोकर कार्यालयमा सम्बन्धित जिल्लाका सेयर लगानीकर्ताले तालबन्दी गर्ने योजना छ । उपत्यकाको हकमा क्षेत्रगत रुपमा तालाबन्दी गर्न मोबाइल नम्बरसहित व्यक्ति खटाइएको छ । 

जसअनुसार अनामनगर क्षेत्रमा केशव कोइराला,हनुमानस्थान क्षेत्रमा विहाल कडरिया, पुतलीसडक क्षेत्रको निम्ति नयन बास्तोला,न्युप्लाजा क्षेत्रमा एलबी साह,कमलादीमा रोहन कार्की र सुनिल शिवाकोटी तोकिएका छन् । त्यसैगरी कमलपोखरी क्षेत्रमा तिलक कोइराला,नयाँ बानेश्वर क्षेत्रमा नानीबाबु खरेल र नवराज उप्रेती, न्युरोड क्षेत्रमा कुमार सिटौला, सुन्धारा क्षेत्रमा सुजन उप्रेती, गौशाला वरपर सन्तोष उप्रेती, सार्थक रायमाझी र माधवप्रसाद ओलीलाई खटाइएको छ ।

प्राप्त विवरणअनुसार ब्रोकर कार्यालय बन्द गराउन कालिमाटी क्षेत्रमा चन्द्रगोपाल,विनोद रिसाललाई तोकिएको छ । राजदरबार उत्तरढोका क्षेत्रमा निराजन चिलुवाल,जावलाखेलमा मेनुका ढकाल र समुन्द्रमान श्रेष्ठ खटिइसकेका छन् ।

यसअघि डा. प्रकाशशरण महत अर्थमन्त्रीमा नियुक्त हुँदा सेयर लगानीकर्ता,घरजग्गा लगानीकर्ता र दलालहरुले नै समर्थनमा सामाजिक सञ्जाल रंगाएका थिए । उनीहरुले मुलुकको अर्थतन्त्र र पुँजी बजार सबै अप्ठेरोमा पुग्नुको कारण नेपाल राष्ट्र बैंक र त्यहाँका गभर्नरलाई दोष लगाउँदै महत अर्थमन्त्रीले कायापलट गर्ने धारणा राखेका थिए । मन्त्रीलाई बधाई दिन फूलका निकै ठूला बुके बोकेर अहिले विरोधमा उत्रेकाहरु नै केही महिनाअघि सिंहदरबार छिरेका थिए ।

टिप्पणीहरू