रेशु बालेनसँग यसरी पो रिसाइछन्

रेशु बालेनसँग यसरी पो रिसाइछन्

जसको खायो उसैको जुँगा मुड्न पनि त मिलेन नि ! भनियो कि मेयर बालेन साहको रवैयाबाट असन्तुष्ट भएर उनका सल्लाहकार रेशु अर्याल ढुंगानाले राजीनामा दिइन् तर कारण खोज्दै जाँदा भेटियो अर्कै । 

पारिवारिक व्यवसायमै बालेन साहको ‘बक्रदृष्टि’ पर्नु, पति मेयरकै विरुद्ध उच्च अदालत जानुपर्ने स्थिति पैदा हुनुले नैतिकताकै आधारमा शिक्षा सल्लाहकार रेशुले १० महिनामै राजीनामा दिएर बाहिरिनुपर्ने स्थिति आएको निकट स्रोत बताउँछ । 

७५३ जनप्रतिनिधिमध्ये वैदेशिक भ्रमणको रेकर्ड ब्रेक गर्दै १ वर्षमा १० पटक भारततिर उडिसकेका बालेन साहले अघिल्लो साता हिन्दी चलचित्र आदिपुरुषलाई सिनेमा हलमा चलाउन नदिने निर्णय सुनाए । उक्त निर्णयविरुद्ध रेशुका पति भाष्करसहितको एउटा समूह रिट बोकेर पाटन उच्च अदालत जाने तयारीमा थियो । सोको सुइँको पाएपछि बालेनले श्रीमान््लाई सम्झाउन भनेका रहेछन् । रोजीरोटी नै सुक्ने अवस्था आएपछि हल मालिकहरू रोकिने स्थिति थिएन । 

भाष्करहरू अदालत पुगे । उक्त रिटमा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ । भाष्कर हलमालिकको छाता संगठनका उपाध्यक्ष हुन् । यसका अलावा सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा हल सञ्चालन गर्ने टिम क्वेस्ट प्रालिको निर्देशक पनि छन् । श्रीमान् नै विदेशी सिनेमाको व्यापार गर्ने व्यक्ति भएको हुँदा बालेनको निर्णयले रेशुलाई नैतिक संकटमा पारेको थियो । 

नेपालमा विदेशबाट भारतीय र अंग्रेजी सिनेमा ल्याउने र प्रदर्शन गर्नेमा अग्रपंक्तिभित्रै नाम आउँछ उद्धव/उज्ज्वल पौडेल, मनोज राठी, नकिमउद्दिन र भाष्कर ढुंगानाहरूको । यो समूहले एक करोड भारु तिरेर ‘आदिपुरुष’ नेपालमा भित्र्याएको भए पनि चलचित्र विकास बोर्डबाट भने ३० लाखको अनुमति लिएर राजश्वमा तर मारेको बताइन्छ । सोही चलचित्र रोक्ने बालेनको आदेशपछि रेशु चिढिएकी हुन् । उसो त लबिम मलमा चलाइएको क्युएफएक्समा राजेश सिद्धिको ३७ प्रतिशत, नकिमउद्दिनको २६ प्रतिशत, भाष्कर ढुंगानाको २० प्रतिशत र रेशु अर्याल ढुंगानाको १७ प्रतिशत लगानी रहेको बताइन्छ ।

आफैँ लगानीकर्ता रहेको हिन्दी फिल्म वितरणलाई बालेन साहले अप्ठ्यारोमा पार्न थालेपछि रेशुले राजीनामा दिन बाध्य हुनुपरेको हो । रेशुले एक दशकदेखि शिक्षासँग सम्बन्धित एउटा एनजिओ (टिच फर नेपाल) चलाउँदै आएकी छन् । चलचित्र क्षेत्र आफ्नो पारिवारिक व्यवसाय भएकाले महानगरको सल्लाहकार बस्न नैतिक रूपमा पनि नमिलेका कारण आफूले राजीनामा गरेको रेशुले प्रष्ट्याइसकेकी छन् । रेशुसहित त्यहाँ ५ सल्लाहकार थिए । अदालतको आदेश नमान्ने बालेन साहको पछिल्लो अभिव्यक्तिप्रति उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल पनि खुशी छैनन् । 
 

टिप्पणीहरू