सहकारीबाट लुटुपुटु पारेर सुइँकुच्चा

सहकारीबाट लुटुपुटु पारेर सुइँकुच्चा

काभ्रेपलाञ्चोक जिल्लामा तीन तहका सरकार सञ्चालनमा आएसँगै नागरिकबाट रकम उठाएर फरार हुने सहकारीमध्ये विनायक र अखण्ड पहिलो हुन् । दुबै सहकारीको ठेक्का रामसुन्दर कार्कीले लिएका थिए । तामझाम र बैंकको भन्दा धेरै राजश्री ठाँटका साथ सञ्चालित सहकारी केही वर्षमै नागरिकको बचत रकम फिर्ता दिन नसकेर भागे । अहिले कार्की राजधानी उपत्यकामा अर्काे सहकारी सञ्चालन गरेर बसेको सूचना भए पनि बचतकर्ताको रकम फिर्ता गर्न कुनै पहल भएको छैन । प्रहरी कार्यालयमा दर्ता भएको उजुरी वर्षाैँ हुँदा पनि कार्यान्वयनमा आएको छैन । बचतकर्ताले वर्षाैँ बितिसक्दासमेत रकम पाउन सकेका छैनन् । त्यसअघि भागेका बनेपाका सम्झना फाइनान्स, लक्ष्मी फाइनान्स हुन् । 

बनेपा चोकस्थित पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतम र प्रवन्धक छोरा कुमार गौतमले ७ हजारभन्दा धेरै सदस्यको करोडौँ रकम फिर्ता गर्न बाँकी छ । उनीहरू नै अदालतमा मुद्दा बोकेर दौडिरहेका छन् । आफैँ जालसाजी गर्ने, किर्ते कागजात बनाउने बाबु डम्बरप्रसाद गौतमले धेरै मुद्दामा पराजय भोगेका छन् । वडाध्यक्ष हिटलर शाक्यसहित ५२ जना बचतकर्ताविरुद्ध किर्ते मुद्दा दर्ता गरेका पुण्येश्वरका उनै डम्बरप्रसादले मुद्दा हारेका छन् । समाचार लेखेको विषयमा मानहानिको मुद्दा हाल्ने गौतमले त्यसैमा पनि पराजय व्यहोरेका छन् । नागरिकको रकम फिर्ता गर्नभन्दा पनि किर्ते कागज बनाउने, छोरालाई लुकाउने र रकम अपचलन गर्ने र अझै हेडमाष्टरसमेत रहेका गौतमविरुद्धका धेरै उजुरी प्रहरी कार्यालयमा विचाराधीन छ । 

छोरा कुमार गौतम पुण्येश्वरमा प्रबन्धक थिए भने द्रौपदा सहकारीमा अध्यक्ष थिए । दुबै सहकारीबाट जम्मा गरेको रकम अपचलन गरेको अभियोगमा बाबु–छोराविरुद्ध बचतकर्ताले जाहेरी दिएका छन् । अनुसन्धान भएर पनि अझै कारबाही भएको छैन । बनेपामै रहेको सत्कार सहकारीका अध्यक्ष कैलाश पलाञ्चोकेको कारण अन्य सञ्चालक पनि तनावमा छन् । उनीहरूविरुद्ध पनि अदालतमा मुद्दा छ । जनागालस्थित स्वर्णिम सहकारीले सयाैँ बचतकर्ताको करोडौँ ठगेको छ । बाबु रमेश राउत क्षेत्री, छोरा दिनेश र उमेशले ठगेको रकम अझै फिर्ता हुन सकेको छैन । उनीहरूले स्वर्णिम र एशियन स्टारका नाममा जम्मा गरेको करोडौं रकम फिर्ता गर्न सकेका छैनन् । 

वासुदेव खड्का (हाल जेलमा) गरुड सहकारीका हर्ताकर्ता हुन् । ०७४ सालमा स्थानीय तहमा सहकारी हस्तान्तरण गर्नु केही समयअघिको मिति राखेर बनेपाको जनागालस्थित दर्जनाैँ सहकारीमा कीर्ते हस्ताक्षर प्रयोग भएको पाइएको छ । जग्गा खरिद–बिक्री रोकिँदा सहकारीको रकम रोकिएको छ भने राजश्वसमेत घटेको छ । गरुड टोली जेलभित्रै बसेर मिलापत्रको तयारीमा छ । बनेपामा रहेका मुकुल, युनिटी, कान्तिपुर, युएम साकोसलगायत अधिकांश सहकारी संकटमा छन् । सहकारीले धेरै ब्याज लिएको भन्दै प्रहरीमा उजुर हाल्नेहरू पनि छन् । धितो लिएर लिलामी गरेको ऋण तिर्दा फिर्ता नदिएको भन्दै उजुरी पनि परेको छ । 

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भने अघिल्लो आर्थिक वर्ष ६७ वटा सहकारीसम्बन्धी मुद्दा दर्ता भएका छन् । एक आर्थिक वर्षभित्र मात्रै कर्जा असुली (लेनदेन) अभियोगमा ५७ थान मुद्दा दर्ता भएका छन् भने चेक अनादरका १० वटा मुद्दा छन् । बनेपाको मुटुजस्तै मध्यभागको केन्द्र चारदोबाटो वडा नम्बर ७ मा भब्य डेकोरेसनसहित कार्यालय राखिएको पुण्येश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भएका २९ वर्षीय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर एक वर्षदेखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोडसमेत उनैले ठगेका छन् ।

बाबु डम्बरप्रसाद अध्यक्ष रहेको उक्त सहकारीमा कुमारकी श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष, सानीआमा कमला चौलागाईंं सदस्य छन् भने बहिनी मनीषा गौतम लेखा प्रमुख छिन् । दुवै संस्थाको लेखापाल बहिनी मनीषा हुन् । कान्छो भाइ प्रदीप ऋण संयोजक छन् । बुहारी गंगा श्रेष्ठ र भाइ उद्धवलाई सोही सहकारीको रकमबाट अष्ट्रेलिया पठाइएको छ । सञ्चालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवीको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपासहितका ८ हजार ५ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् । 

कुमार आफैले ब्यक्तिगत रूपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रूपैयाँ खर्च गरेको रेकर्ड छ । उनले ७ करोडभन्दा धेरै रकम आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋणमध्ये अशोक चौलागाई सानीआमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सिर्जना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागाईं गौतम (बुहारी), उद्धव गौतम (भाइ माइलो), गंगा श्रेष्ठ गौतम (माइली बुहारी), सहदेव चौलागाईं (जेठान), मनिष कर्की (पसल प्रतीक सुज), नवराज धिताल (नाताको ज्वाइँ), देवी मल्ल (आफन्त) र अधिकांश ऋणीहरू रामेछापकै उनको गाउँका छन् । 

-माेतीराम तिमल्सिना

टिप्पणीहरू