सबै श्रेणीहरू

अलग्गै कित्तामा पुर्‍याइएका अग्नि

अलग्गै कित्तामा पुर्‍याइएका अग्नि

दिन पनि कस्ता कस्ता, सधैँजसो अप्ठ्यारो पर्दा अध्यक्ष केपी ओलीको लागि गर्धन थाप्ने अग्निप्रसाद खरेल यतिखेर कन्काई नदीको अर्को किनार भएका छन् । मभन्दा सिनियरलाई अघि ल्याउनुहुन्छ भने सहर्ष स्वीकारर्छु । जुनियर ल्याउनुहुन्छ भने विनम्रतापूर्वक अस्वीकार गर्छु भन्दै उम्मेदवारी चयन हुनु पाँच दिनअघि गुन्डुबाट छुटेका खरेलले ईश्वर पोखरेल प्यानलबाट सचिवमा उठ्दा हराइए । खरेल ओलीको इच्छाविपरीत सचिव पदमा उठ्दा ७१६ मत ल्याई पराजित भए । नौ जना सचिवमध्ये उनीभन्दा माथि भानुभक्त ढकाल ११०८ मत सहित सचिव बने । 

प्यानल खडा गर्दा सानो भए पनि विपक्षी समूह तयार हुन्छ, त्यसो नगरौं भन्ने आग्रहसमेत खरेलले राखेको बताइन्छ । नौ जना जित्नेलाई छाडेर खरेलले ६ जना उपविजेतालाई उछिनेका छन् । उनले सचिवमा ७१६ मत ल्याए पनि केन्द्रीय सदस्यमा एक हजार एक सयभन्दा बढी मतले विजयी बनेका छन्् । त्यसैगरी, अध्यक्षमा पराजित ईश्वर पोखरेलसहित सचिवमा १०३० मत ल्याई पछि परेका गोकुल बाँस्कोटा, ६२५ मत ल्याएका कृष्णगोपाल श्रेष्ठ, ४९६ मत प्राप्त लालबाबु पण्डित र ८४७ मतसहित पराजित कर्णबहादुर थापासमेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

खरेलले ओलीलाई कानुन मन्त्री, महान्यायाधिवक्ता र विज्ञ सल्लाहकारलगायत महत्वपूर्ण पदमा बसेर साथ दिएका थिए । अहिले आएर किन टाढा पुर्‍याइए भन्ने कुरा खरेललाई पत्तो नभएको स्रोतको दावी छ । पार्टीको पछिल्लो बैठकमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने काम गलत थियो भन्ने अभिव्यक्ति दिएका खरेलले विद्या भण्डारीको सदस्यता विवाद नसल्टाउँदा पार्टीलाई असर गर्ने धारणा राखेका थिए । यसैकारण अध्यक्ष रुष्ट हुन पुगेका त होइनन् भन्ने तर्कवाजी पनि चल्ने गरेको बुझिएको छ ।

यसैगरी खरेलले ओलीसँग विधान अधिवेशनको महत्व घटाएर राष्ट्रिय महाधिवेशनको महत्व बढाउने काम गर्नुपर्नेराय प्रकट गरेको बताइन्छ । खरेलले एक पटक पद संख्या बृद्धि गरेपछि घटाउन गाह्रो हुने, त्यसले समस्या निम्त्याउने सुझाव पोलिटब्यूरो बैठकमा राखेका थिए । यदि पदाधिकारीमा उम्मेदवारी दिनेले केन्द्रीय सदस्यमा नउठ्ने नीति लिएको भए आठौं महाधिवेशनमा केपी ओली नै पदाधिकारीमा पराजित भएका थिए । केन्द्रीय सदस्यमा चाहिँ चुनिएकै कारण सम्मानित नेता बन्दै गएका हुन् । तर, अहिले त्यस्तो विषयलाई गम्भीरतापूर्वक नलिएका कारण पनि समस्या देखा पर्न थालेको हुनसक्छ । 

त्यसो त शंकर पोखरेललाई दुई–दुई पटक महासचिव बनाउन सक्नेले एक पटक प्रदीप ज्ञवालीलाई अवसर दिएको भए बिग्रने थिएन भन्नेहरु पनि छन् । एमालेभित्र असल पात्रको सूची तयार गर्न जनमत संग्रह गर्ने हो भने बाहिरका मान्छेले समेत मन पराउने नेतामध्ये उनी एक नम्बरमा पर्दछन् । २०१९ सालमा जन्मेका ज्ञवाली १५ वर्षकै उमेरदेखि पार्टीको निम्ति भूमिगत बसेका थिए । 

रघुविर महासेठले मतदान स्थगन गरेको रात मधेश प्रदेशको भोट पल्टाएपछि समीकरण बिग्रिएको समेत हिसाव निस्किएको छ । महासेठको समर्थनमा रहेको करिब २५० मतमा उनले निकै राम्रोसँग उल्टापुल्टा गरेको र त्यतैबाट विष्णु रिमाललाई एकछापे खसेको समेत देखियो । यस्तो नभएको भए सुरेन्द्र पाण्डेले महासचिवमा बाजी मार्ने सम्भावना प्रबल थियो । ठाडो मनोनीत १०८ बाहेक अनुपस्थितको ठाउँमा घुसाइएका ३१ जनाले पनि पाण्डेलाई धोका दिएको परिणाम प्रष्ट छ ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)