गाली नै गर्दा पनि अलिकति मिलाएरै गर्नु नि !

गाली नै गर्दा पनि अलिकति मिलाएरै गर्नु नि !

सुध्रिने छाँटकाँट देखिएन । खिसियान् बिल्ली खम्बा नोँचे भन्ने उखान छ हिन्दीमा । महँगीबारे, सुशासनबारे, भ्रष्टाचारबारे, जवाफदेहिताबारे, धाँधली नै भएको हो भने प्रमाणसहित धाँधलीबारे, अपराध तथा हिंसाबारे, शिक्षा र स्वास्थ्य समस्याबारे, अब वर्षा आउँदै छ, बाढी पहिरो नियन्त्रण तथा उद्धारमा के तयारी छ भन्नेबारे, मलखाद र राम्रो बीउ कसरी समयमा दिने हो आदि आदि जस्ता विषय उठाएर पो सत्तापक्षलाई, मन्त्रीलाई र्‍याख्र्‍याखती पार्ने हो । हारको झोंक पोख्दा नकारात्मक सन्देश प्रवाहित हुन्छ भनेर खै जानेको ? बालेनले यत्तिकै जितेको कहाँ हो र !

संसद्मा चलिरहेको छलफल सुन्दा छक्क लाग्यो । एउटा माननीयले अत्यन्तै राम्रो कुरा गरे । गाली गर्न तीन घण्टाको समय तर जुम्लाको दुःख भन्न तीन मीनेट ? हुन पनि हो । कुर्सीमा पुग्ने हाम्रा मान्छेहरू कस्ता रहेछन् भनेर जान्न यो टिप्पणी पर्याप्त छ । हाम्रो मानसिकता चर्का नारा सुन्ने, ठट्यौलीमा रमाउने र डोरिने किसिमको छ । खासमा त संसद आफ्नो ल्याकत प्रस्तुत गर्ने तथा जनतालाई तिम्रा मुद्दा उठाएको छु भनेर भरोसा दिलाउने स्थान हो ।

त्यहाँ जनताका मुद्दामाथि छलफल हुनुपर्ने हो । विकासबारे छलफल हुनुपर्ने हो । रोजगारीबारे, पर्यावरणबारे कुरा हुनुपर्ने हो । चुनावमा जितेकालाई बधाई दिनुपर्ने हो तर यस्तो देखिएन । देशको बजेट आउन लागेको छ । तर, अहँ, यस्ता विषयमा छलफल हुँदैनन् । छलफल र सवाल जवाफ मलाई फलानोले घोचपेच गरे, मेरो चित्त दुख्यो भन्नेजस्ता नितान्त व्यक्तिगत, अराजनीतिक र अप्राज्ञिक कुरामा हुन्छन् ।

एक जना पनि माननीयले महँगीबारे बोलेनन् । वर्षामा जनतालाई बाढीबाट जोगाउन के गर्ने, कसरी गर्ने भनेर कसैले केही भनेनन् । मल, बीउबिजन कसरी समयमै र सजिलोसँग उपलब्ध गराउने भनेर पनि बोलेनन् । महँगो स्कूल, कलेज र अस्पताल चलाउनेहरूले शिक्षा र स्वास्थ्यको विषयमा बोल्ने त झन कुरै भएन । यसैबाट देखिन्न, बुझिन्न र हामी कता जाँदै छौं, कस्तो बजेट ल्याउन लागेका छौं र प्राथमिकता केले पाउनेवाला छ भनेर?

चुनावमा एक भोटले मात्रै होइन कि गोला तानेर पनि हारजित भएको छ । यो प्रणाली नै यस्तै छ । त्यसकारण जनता हामीसंगै छन् भन्ने भाष्य खडा गरेर र त्यही पपुलर भोटको आड लागेर पराजयको जिम्मेवारी लिनबाट कसैले पनि भाग्न मिल्दैन । चुनावमा गठबन्धनको असर पर्छ भनेर नबुझ्ने कोही थियो होलाजस्तो मलाई लाग्दैन । यदि, कोही थियो भने त्यो अबुझ हो ।

तर, पार्टीभित्रैैबाट अन्तर्घात भएको हो र यो नै हारको प्रमुख कारण हो भनेर मानेपछि अरुलाई दोष दिँदै होहल्ला गर्नुको कुनै अर्थ रहन्न । बरु त्यसले आफ्नै छविमा, इमान्दारीमा शंका पैदा गराउँछ । यदि, यो हारबाट शिक्षा लिने हो भने पहिलो काम पार्टीभित्र आफ्नै कमरेडहरूलाई नै हराइदिनुपर्ने अवस्था कसरी उत्पन्न भयो र यसको जिम्मेवार को–को हुन् भन्ने कुराको छिनोफानो गर्नुपर्छ । कामको परिणामअनुसार जिम्मेवारी नलिने हो भने पार्टी अराजकताको मार्गमा जान्छ ।

अबको लक्ष्य भनेको प्रमुख प्रतिपक्ष भएको नाताले सरकारको गलत नीति, गलत काम र भ्रष्टाचारका मुद्दालाई जोडतोडसाथ जनतामाझ लैजाँदै प्रदेश र संघको चुनावको तयारी गर्ने हो । साथसाथै पार्टीभित्र अन्तरकलह कडै छ र गठबन्धन पनि विद्यमान छ भनेर पनि बुझ्नुपर्छ । यो अन्तरकलह मेटाउने कसरी त भन्दा आजकै मितिबाट सबैले गरेको कामको निष्पक्ष मूल्यांकन गर्ने, सोही आधारमा जिम्मेवारी तोक्ने र मुक्त गर्ने हो ।

यस्तो गर्न सकियो भने अन्तरघातबाट जोगिने मात्रै नभएर पार्टी एकमत भएर चुनावमा जान सक्छ । अब गठबन्धनको जहाँसम्म कुरा छ नेकपा (एस) सँग एकता तथा (माके) सँग पनि सके एकता, नभए चुनावी तालमेल नगरेसम्म त्यो गठबन्धन टुट्लाजस्तो देखिन्न । अब आउने चुनाव पनि गठबन्धनसँग लड्नुपर्ने भयो भने त्यो लडाइँ बिल्कुल सिंगल सिंगल हुनेछ ।

एकातिर एमाले र अर्कोतिर गठबन्धनको एउटा साझा उम्मेदवारको बीचमै चुनावी प्रतिस्पर्धा हुनेछ । त्यो बेला गठबन्धन क्विन्टल हुनेछ भने एमाले ढक हुनेछ । यो साधारण जोडघटाउ पनि गर्न जानिन्न भने त नतिजा हार्ने नै हो । चिट चोरेर पास हुने गुञ्जायस धेरै कम हुन्छ । कुनै पनि राप्रपालाई साथ लिएर चुनाव जितिन्न, हारिन्छ । हामीले भन्ने यही नै हो । सही सल्लाह ग्रहण गरी आफूलाई सुधारेर पार्टीलाई बलियो बनाउने र चुनावमा पनि जिताउने काम भयो भने आखिरमा सत्तामा बस्ने हामी त होइनौं नै !

टिप्पणीहरू