सुन ल्याउने नयाँ तरिका, पोशाकको टाँकभित्र सुनैसुन
मुलुकभित्र अवैध सुन ल्याउन कडाइ गरिएपछि यात्रुले विभिन्न उपाय अपनाउन थालेका छन् । आज दुबईबाट काठमाडौं आएका एक जनाले बालबालिकाको पोशाकमा लगाइएको टाँकभित्र लुकाएर ल्याएको एक सय २५ ग्राम सुन फेला परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेजमा नाबालकले लगाउने सिङ्गल पिस पोशाकको पाँच थान टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको अवस्थामा ६० वटा सुनको रिङ फेला परेको हो ।
उक्त सुनसँगै दमाईलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । भिजिट भिसामा दुबई गएका दमाईले काम गर्ने अवसर नपाएपछि नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहारस्वरुप सो पोशाक नेपालसम्म पुर्याइदिन अनुरोध गरेको बताएका छन् ।
स्टिल बटनको भित्री भागमा सुन राखिएकाले झट्ट हेर्दा फलामको टाँक जस्तै देखिएको हो । भन्सार कार्यालयले विदेशबाट आउँदा अपरिचित व्यक्तिको मालवस्तु साथमा नल्याउन सबैलाई भन्सार अनुरोध गरेको छ ।
टिप्पणीहरू