कुलो बनाउँदा भ्रष्टाचार गरेका ९ जनाविरुद्ध मुद्दा

कुलो बनाउँदा भ्रष्टाचार गरेका ९ जनाविरुद्ध मुद्दा

सिँचाईको निम्ति बनाइएको कुलोमा भ्रष्टाचार गरेको आरोपमा मुगुका नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुगुको छायाँनाथ रारा नगरपालिकामा सिँचाइ कुलो निर्माणका नाममा २३ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

तीनमुखेदेखि लुवाबान्ना कृषि सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सह–सचिव सुरेश बुढा, छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष धर्मदत्त सावत, सब–इन्जिनियर राजेन्द्र शाहीलाई भ्रष्टाचारको मुद्दा लागेको हो ।

त्यस्तै, कर्मचारी मणिचन्द्र विक र जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्यायविरुद्ध पनि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू