लाखको बिटो लुटेर भागेका युवक समातिए

लाखको बिटो लुटेर भागेका युवक समातिए

धनुषामा महिलाको पैसा लुटेर भागेका दुई जना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका, १ बस्ने शर्मिलादेवी यादवले बैंकबाट निकालेको दुई लाख नगद लुटेर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा प्रदेश २–०२–००५–प ००८५ नम्बरको मोटसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका ७ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल हुन् ।

२८ वर्षीया शर्मिलाले बैंकबाट दुई लाख रुपैयाँ निकालेर बाटोमा हिँडिरहेको समयमा मोटरसाइकलमा आएका दुई जनाले पैसा हालिएको ब्याग लुटेर लगेका थिए ।

पैसा लुटिएपछि उनले प्रहरीमा उजुरी दिइन् । यो घटना साउन ९ गतेको हो । महिलाको उजुरीपछि अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्रको दाजुको नाममा दर्ता भएको भेटियो ।

त्यसपछि कृष्णको घरमा खानतलासी गर्दा शर्मिलाको मोबाइल र ५४ हजार रुपैयाँ फेला परेको हो । प्रहरीका अनुसार जितेन्द्रलाई सोधपुछ गर्दा पछाडि बस्ने दीपेन्द्रको घरमा ७४ हजार रुपैयाँ नगद भेटिएको हो ।

टिप्पणीहरू