निशा श्रीमानको श्रमको फैसला गोलमटोल भएपछि सर्वोच्चतिर
त्रिवेणी टेक्स्टाइल्स इण्डष्ट्रिज प्रालिको एउटा मुद्दामा श्रम अदालतका सदस्यकै स्वार्थको सम्बन्ध जोडिएको दलिल पेश गर्दै बन्द भइसकेको कम्पनीका तत्कालीन सञ्चालक रामचन्द्र संघाई सर्वोच्च अदालत पुगेका छन् ।
श्रम अदालतकी माननीय सदस्य निशा बानियाँ मुद्दाबाट अलग बस्नुपर्नेमा फैसलामा संलग्न भएको प्रश्न रिटमा उठाइएको छ । साउन २२ गते सर्वोच्चमा रिट दायर भइसकेको छ । बन्द भइसकेको कम्पनीको कर्मचारी सरुवा, सेवा सुविधा, समायोजन र व्यवस्थापनबारे श्रम अदालतले गरेको फैसला ‘दूषित’ रहेको दाबी रिटमा गरिएको छ । २०७८ ।११ ।४ ।४ मा भएको फैसला उल्ट्याउन माग गरिएको उक्त रिटमा श्रम अदालतका सदस्यविरुद्ध गम्भीर आरोप लगाइएको हो ।
अध्यक्ष नभएको मौका छोपेर बानियाँले स्वार्थ जोडिने मुद्दा हेरेको प्रश्नसमेत उठाइएको छ । श्रम अदालतको सदस्यमा सिफारिस हुनुअघिसम्म बानियाँ एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएकी थिइन् । उक्त मुद्दा ट्रेड युनियनसँग सन्निहित रहेका कारण पनि यो मुद्दा हेर्न नमिल्ने प्रश्न उठेको छ । ‘तीन जना न्यायाधिकारी भएकोमा अध्यक्ष तथा न्यायाधीश नभएको मौका पारेर आफूसमेत विगतदेखि नै संलग्न रहेको संस्थामा आबद्ध व्यक्तिको मुद्दा हेरी पुनरावेदकको माग, सम्बन्धित कानुन तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विरुद्धमा फैसला गर्नु न्यायिक अनाचारको पराकाष्ठा हो । त्यसैले उक्त फैसला दूषित छ,’ रिटमा यस्तो आरोप लगाइएको छ ।
यस्तै, एकै दिन आफैँले गरेको एउटा फैसलामा श्रमिक कटौती सदर गरिएको र तर अर्को मुद्दामा बन्द भइसकेको उद्योगले कामदार कर्मचारी ‘व्यवस्थापन’ गर्नुपर्ने भनेर दाहोरो मापदण्ड लिएको, श्रम विभागको अधिकार क्षेत्र नाघेको, संवैधानिक र कानुनी रक्षाकवचलाई अनादर गरिएकोलगायत गम्भीर आरोपको फेहरिस्त नै छ । यति मात्र नभै न्यायकर्ताको अयोग्यता र कार्यक्षमताको अभाव रहेको प्रश्नसमेत उठाइएको छ । ‘आफ्नो स्वार्थ बाझिने तथा न्यायिक अधिकारीले न्यायिक स्वच्छता, न्यायिक मर्यादाको ख्याल राखेर कार्यसम्पादन गर्नू भनी परमादेशको आदेश र न्यायिक अनाचार हुने कुनै कार्य नगर्नू भनी प्रतिषेधको आदेश जारी गरिपाऊँ,’ रिटमा उल्लेख छ ।
टिप्पणीहरू