केही सांसदको निम्ति संसद : मन लागे जाने, नत्र नजाने थलो

केही सांसदको निम्ति संसद : मन लागे जाने, नत्र नजाने थलो

प्रतिनिधिसभाका लगातार १० वटा बैठकमा अनुपस्थित भएका १५ सांसदको नाम सार्वजनिक भएको छ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका ती सांसदहरुको नामावली प्रस्तुत गर्नुभएको छ ।

गत जेठ यता बसेका १० वटा बैठकमा गयल भइका सांसदहरुमा भीमसेनदास प्रधान, प्रदिप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशीला चापागाईं, रघुवीर महासेठ, जुलीकुमारी महतो, शान्ता चौधरी, विनोद चौधरी, शिवकुमार मण्डललगायत छन् । नेपाली काँग्रेसका सांसद प्रधान छोरीको ग्राजुयसनका लागि अमेरिका गएको र गिरी स्वास्थोपचारका लागि भारतमा रहेका कारण संसद बैठकमा अनुपस्थित भएको जनाइएको छ ।

सभामुख सापकोटाका अनुसार एमाले सांसदहरु गंगा चौधरी स्वास्थ्य उपचारका लागि भारतमा रहेको र महासेठ दम्पति अमेरिका पुगेका छन् । जुलीको उपचारका लागि दुबै जना अमेरिका गएकाले बैठकमा अनुपस्थित भएका हुन् । १० वटा बैठकमा लगातार हाजिर नगरेकी एमाले संसदीय दलका सचेतक शान्ता चौधरी पनि अमेरिकामै छिन् ।

अर्का सांसद कर्मा घले स्वास्थोपचारका लागि भारत गएका छन् भने नवराज रावत निजी कामका लागि अमेरिका र डलर अर्बपति तथा काँग्रेस सांसद विनोद चौधरी व्यावसायिक कामका लागि देशबाहिर रहेको कारण देखाएर संसदमा उपस्थित नभएका हुन् ।

त्यसैगरी, सुरेशचन्द्र दास, शिवकुमार मण्डल र निर्जला राउतले अस्वस्थताका कारण संसदमा उपस्थित हुन नसकेको जनाएका छन् ।

टिप्पणीहरू