सिंहदरबारभित्रै इञ्जिनियरहरुले बोकेर गए कालो ब्यानर र कालो पट्टी

सिंहदरबारभित्रै इञ्जिनियरहरुले बोकेर गए कालो ब्यानर र कालो पट्टी

सहरी विकास मन्त्रालयअन्तर्गतका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले आन्दोलन गरेका छन् । उनीहरुले सिंहदरबारभित्र रहेको मन्त्रालय अगाडि आन्दोलन गरेका हुन् । उनीहरुले आजको आन्दोलन सांकेतिक भएको बताएका छन् ।

इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूहको बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीले आन्दोलन गरेको बताइएको छ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा गाभ्ने र विभागको कार्यक्षेत्र ओगट्ने गरी निर्णय गराइएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीले कालो ब्यानरसहित हातमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका थिए । तर प्रहरीले सिंहदरबारभित्र कालो ब्यानर र पट्टी बाँध्न नदिइएको आन्दोलनकारी कर्मचारीले बताए ।

आन्दोलनका संयोजक तथा सहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय तत्काल सच्याउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन र सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

सरकारले गत साउन १९ गते सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा ल्याउने निर्णय गरेको छ । त्यसपछि ती कर्मचारीले आफ्नो कार्यक्षेत्र ओगट्ने दुष्प्रयास गरिएको भन्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनलगायत सबैजसो संगठनले ऐक्यबद्धता जनाएको बताइएको छ ।

टिप्पणीहरू