आफूविरुद्ध भ्रम छरिएकोमा रामकुमारीको स्पष्टीकरण
पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आह्वान गरेकी छन् । पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उनले एमालेबाट विद्रोहको औचित्य स्थापित गर्न पार्टी निर्माणमा लाग्नु आजको आवश्यकता रहेकोमा जोड दिएकी हुन् ।
गत वर्ष आजैका दिन एमालेबाट विद्रोह गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पुनर्गठन भएको थियो । त्यसको आवश्यकता र औचित्य प्रष्ट्याउदै झाँक्रीले राजनीतिमा मूल्यको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिनका रुपमा स्मरण गरेकी छन् ।
‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो । मेरा पिता समानका नेता कमरेड माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो’, नेतृ झाँक्रीले आज सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिक मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो ।’
पछिल्लो समय आफूबारे उठेका प्रश्नको पनि उनले जवाफ दिएकी छन् । मन्त्रीबाट हटेलगत्तै पार्टी छाड्न लागेको, एमालेमै फर्किने तयारी गरेको, अध्यक्ष माधव नेपालसँग बोलचाल नै बन्द गरेको, पार्टी बैठकमा जान छाडेकोलगायत चर्चा चलिरहेका बेला झाँक्रीले यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन पार्टीका नेता–कार्यकर्तालाई अनुरोध गरेकी हुन् ।
‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार÷विचार आएको देख्छु । यो कुरा गलत हो । देशैभरिका हाम्रा सहयोद्धा साथीहरु यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहन्छु’, उनले भनेकी छन् ।
नेतृ झाँक्रीले पाँच दलीय गठबन्धन निर्माणको आधार र यसको निरन्तरताको आवश्यकताबारे पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । ‘हो हाम्रो विद्रोह त्यही थियो ः संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपलब्धीको रक्षा गर्न, यो राजनीतिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहनाअनुसार सञ्चालन गर्न’, भन्छिन्, ‘आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो । आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ । गठबन्धन आजको आवश्यकता हो ।’
संविधानलाई गति दिन, सही मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखेर आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य रहेको उनको भनाइ छ । यी सबै कार्यभार पूरा गर्न एकीकृत समाजवादीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता भएको झाँक्रीले बताएकी छन् ।
टिप्पणीहरू