वैदेशिक रोजगारीमा बितेका वा अंगभंग भएकाका सन्तानलाई छात्रवृत्ति

वैदेशिक रोजगारीमा बितेका वा अंगभंग भएकाका सन्तानलाई छात्रवृत्ति

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका, पूर्ण रुपमा अशक्त वा गम्भीर बिरामी भएर फर्केकाहरुको सन्तानलाई छात्रवृत्ति दिइने भएको छ । वैदेशिक रोजगार बोर्डले उनीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न लागेको हो ।

बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिमको ढाँचामा आगामी असोज मसान्तभित्र निवेदन दिन आग्रह गरेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई मृत्यु, अंगभंग वा बिरामी भई बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिकदेखि १२ कक्षासम्म) का १८ वर्ष ननाघेका बालबालिकालाई छात्रवृत्ति दिइने बताइएको छ । गत असार मसान्तसम्म आर्थिक सहायता प्राप्त गरेका कामदारका बालबालिकालाई मात्र शैक्षिक सत्र २०७९ को छात्रवृत्ति उपलब्ध गराइने बोर्डले जनाएको छ ।

निवेदनका लागि कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, निवेदकको संरक्षकको नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगारमा गई मृत्यु भएकाको मृत्यु दर्ताको प्रमाणपत्र, बोर्डबाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने कामदारको राहदानीको प्रतिलिपि, विद्यार्थीको जन्मदर्ता प्रतिलिपि र सम्बन्धित स्थानीय तहको सिफारिस आवश्यक रहेको जनाइएको छ ।

बोर्डले त्यस्ता विद्यार्थीलाई वार्षिक रुपमा आधारभूत तहका लागि आठ हजार र माध्यमिक तहका लागि १२ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू