पूर्वमाओवादी छिरेपछि एमालेभित्र हुँडलो

पूर्वमाओवादी छिरेपछि एमालेभित्र हुँडलो

गत मंगलबार एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको हातबाट खादा र अबिर लगाउँदै तामझामका साथ एमाले छिरेका माओवादी केन्द्रका मधेसी नेताहरुको ’कन्तबिजोग’ हुने देखिएको छ । ’बा’ ले अबिर लगाएर पार्टीमा प्रवेश गराए पनि जिल्लाका रैथाने कार्यकर्ता पूर्वमाओवादीप्रति विश्वस्त नभएकाले यस्तो स्थिति आइलागेको बताइन्छ ।

माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलको मधेस प्रदेशक इञ्चार्ज शंकर महतोसहित मंगलबार एक दर्जन युवाहरू एमाले बनेका थिए । वाइसीएलको राष्ट्रिय सम्मेलनको संघारमा महोत्तरीका युवाहरूलाई पार्टीमा भित्र्याएपछि केन्द्रीय नेताहरु दङ्ग परे, एमालेपंक्तिमा खुशियाली नै छायो ।

तर, यसअघि नै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुका कारण हैरानी खेपिरहेका मधेसका संस्थापन एमाले कार्यकर्ता पछिल्लो पार्टी प्रवेशले थप सशंकित बन्न पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता प्रभु साह, केन्द्रीय सदस्य महोत्तरीका टेकबहादुर बलम्पाकीलगायत मधेसमा पूर्वमाओवादीको ठूलो पंक्ति उहिल्यै एमालेमा मिसिएको हो । एमालेको १०औं महाधिवेशनबाट प्रभु स्थायी कमिटी सदस्य बनेका छन् भने बलम्पाकीलाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो । जुन निर्णयप्रति रैथाने एमाले हालसम्म असन्तुष्ट देखिन्छन् ।

महोत्तरीमा पार्टीभित्र गुट, उपगुट निर्माण गरी बलम्पाकी र युवा नेता फाल्गुन सुस्लिङ मगरले बदमासी गरेको संस्थापन पक्षको आरोप छ । रौतहटमा पनि प्रभुका कारण भाँडभैलो मच्चिएको भन्दै थुप्रै कार्यकर्ताले बालकोटमा चुक्ली लगाइसकेका छन् । त्यसैले एमाले प्रवेश गरेपनि पूर्वमाओवादीहरुका लागि अझै संस्थापन पक्षको चुलोचौकासम्मको पहुँच बनिनसकेको स्वयम् नवप्रवेशीहरु स्वीकार गर्छन् ।

यसैको एउटा उदाहरण बनेका छन् बलम्पाकी । केन्द्रबाट अधिवेशनसम्मका लागि जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका नेता बलम्पाकीलाई संस्थापन एमालेले स्वीकार गरेको छैन । फलस्वरूप जिल्ला अधिवेशन गराउन पटक–पटक असफल मात्र भएनन् इञ्चार्जबाटै उनी किनारा लाग्नुपर्यो । उनको ठाउँमा अर्का केन्द्रीय सदस्य सरोज यादवलाई इञ्चार्ज बनाइएको छ । असोजको पहिलो साता हुने जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मा अब यादवले पाएका छन् ।

पूर्वमाओवादीकै कारण घरझगडा बढिरहेको आरोप लागिरहेका बेला मधेश प्रदेश कमिटी सदस्य तथा वाइसिएल इञ्चार्ज शंकर महतो, वाइसिएयल महोत्तरी इञ्चार्ज मनोज थापा, निरज अधिकारीहरूलाई एमालेले कसरी स्वीकार्ला भन्ने प्रश्न पनि उब्जेको छ । शंकर गिरिराजमणि पोखरेल निकट हुन् । पोखरेल शिक्षामन्त्री हुँदा उनी झण्डै पाँच वर्ष सचिवालयमा बसेर काम गरेका थिए ।

निरजले पनि माओवादीबाटै आफ्नो राजनीतिक हैसियत माथि उठाएका हुन् । २०७४ को निर्वाचनमा वडा सदस्य जितेका उनले यसपटक वडाध्यक्षमा दाबी गरेका थिए । जनमोर्चा धारका अधिकारीलाई संस्थापन पक्षले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनी अर्का स्वतन्त्र उम्मेदवार भोला खड्कासँग पराजित भए । त्यतिबेलै उनले माओवादी छाडेको घोषणा गरेका थिए । वाइसीएल महोत्तरीका संयोजक मनोज थापालाई पनि माओवादीले राम्रै जिम्मेवारी दिएको थियो ।

त्यसैले पनि एमाले महोत्तरीका नेताहरू बालकोट पुगेर टीका लगाएका ती युवाहरूसँग खुशी नभएका हुन् । बताइएअनुसार माओवादीमा राम्रै जिम्मेवारी हुँदाहुँदै पनि अनेक अवसरको खोजीमा अस्थिरता देखाएको बुझेका एमाले नेताहरु उनीहरुका कारण भाँडभैलो मच्चिने त्रासमा देखिन्छन् । गुटगत राजनीतिमा माहिर उनीहरुका कारण पार्टीमा लफडा निम्तिन सक्ने खतरा रहेकाले केही आशंका उब्जिएको एमाले संस्थापन पक्षका एक नेताले नाम नलेख्ने शर्तमा बताए । केन्द्रीय सल्लाहकार सरिता ढुंगानाले जिल्लामा पार्टी कमजोर बन्नुमा पूर्वमाओवादीहरू नै दोषी रहेको खुलासा गरेकी छन् ।

तर, मंगलबार एमाले प्रवेश गरेका शंकर महतोले भने आफूहरुका कारण पार्टी बलियो हुने दाबी गरे । त्यसो त ओलीले प्रदेशसभा सदस्यको टिकटको सुनिश्चितता दिएपछि उनी बालकोट पुगेर अबिर दलेको भन्दै व्यङ्ग्य गर्नेहरु पनि छन् । कतिपयले वाइसिएलको केन्द्रीय अध्यक्ष नपाउने भएपछि उनले एमालेतिर फड्को मारेको दाबी गरेका छन् ।

माओवादीले अथाह अवसर दिँदादिँदै पनि एकैचोटि ठूलो भाग खोज्न पार्टी प्रवेश गरेको बुझेका जिल्लाका एमाले नेताहरु भन्छन्, ‘पार्टी प्रवेश गरेर हुँडलो मच्याउने हुन् कि भन्ने केही आशंका छ । यसअघि पनि जिल्लामा मिठो सम्बन्धको अनुभव छैन, त्यसैले आशंका हुनु स्वभाविक नै हो ।’

टिप्पणीहरू