कांग्रेस नेता गिरीलाई आइसीयूमा लगियो

कांग्रेस नेता गिरीलाई आइसीयूमा लगियो

स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएका नेपाली काँग्रेसका नेता प्रदीप गिरीलाई आइसीयूमा लगिएको छ । साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आइसीयुमा सारिएको हो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका गिरी पुन: स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका थिए । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिले गिरीको स्वास्थ्य अवस्था देखेर आफू स्तब्ध भएको भएको बताएका छन् । आज अस्पताल पुगेर गिरीलाई भेटेका उनले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गर्दै अरुलाई पनि गर्न आग्रह गरेका छन् ।

मेडिसिटी अस्पतालबाट फर्किंदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं ।’

गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

टिप्पणीहरू