माओवादीका पनि दुई वटा दाँत : एउटा देखाउने,अर्को चपाउने
-नविन अधिकारी
अलि अलि नेपाली भाषा बोल्न जान्ने भएका एउटा चिनियाँ साथीलाई उसको नाम सोध्दा भनेको थियो ‘माई नेम इज च्वाँचे’ । हामी लामो समयदेखि सँगै बस्थ्यौं । कोठामा सँधै बंगुरको मासु ल्याउने भएर मभन्दा अघिका केही नेपाली साथीले त्यही नाम राखिदिएका रे ! उसले सँधै आफूलाई गर्वसाथ च्वाँचे भन्थ्यो ।
त्यही प्रसङ्गमा एक जना नेपाली साथीले भनेका थिए ‘हामीले के खान्छौं, हाम्रो स्वभाव मात्रै होइन कालान्तरमा अनुहार पनि त्यस्तै बन्दै जान्छ । पहिले पहिले खसीको मात्रै मासु खाने बाहुनहरुको अनुहार चुच्चो चुच्चो र बाख्रे रुपको हुन्थ्यो । स्वभाव पनि बाख्रो जस्तै छुच्चो । बंगुरको मासु खाने चिनियाँको अनुहार च्वाँचे जस्तै अनि माछा खाने बंगालीको अनुहार कता कता माछा जस्तै जस्तै ।’
ती मित्रका अनुसार हामीले नियमित खाने खानाले हाम्रो स्वभाव पनि निर्धारण गर्छ । राम्रो ठाउँमा गएर राम्रो खाएको दिन रातभर मुड नै राम्रो हुन्छ । घाँस खाने जनावर शान्त हुन्छन् भने मासु खाने जनावर रिसाहा र हिंस्रक । त्यसैले त्यस्तो जनावरको मासु खाने पनि धेरथोर शान्त र ह्रिसंक हुने मान्यता कतिपयको छ ।
सानोमा मेरो ‘बेस्टफ्रेन्ड’ बिक थरको थियो । उसले दिनहुँजसो गुलेलीले चरा खसाल्थ्यो,मीठोसँग पोलेर खान्थ्यो । हाम्रो गाउँभन्दा केही माथिको पाखामा उनीहरुको बस्ती थियो । एक दिन हाम्रो डिङ्गो खस्यो भने, भैंंसी पनि ब्याउन नसकेर गोठमै मर्यो । हाम्रा उपल्लो जातका बाउबाजेहरु दौडिँदै पाखोमा पुगेर उनीहरूलाई खबर गर्थ्यौ । उनीहरू बञ्चरो, खुर्पा र बोरा लिएर त्यतै लाग्थे । अर्थात् हामी उपल्लो जातले मरेको सिनो पनि बेच्थ्यौं सके पैसामा, नसके अन्नमा या पछि खेतालामा कटाउने गरेर । अहिले लाग्छ गाड्नुपर्ने सिनोसमेत बेच्न नछाड्ने हामी उपल्लो जातका भनिएकाहरु सबैभन्दा ‘मख्खिचुस कमिना’ थियौँ ।
“डियर कमरेड, प्रकाश सपुतको पहिलो ‘पीर’ युट्युबबाट हटे पनि मोबाइल ग्यालरीमा सुरक्षित छ । हेक्का राखौं है !”
साँझ ७ बजे रेडियोले टूट टूट टूट अनि लामो टूउउउउट भन्नासाथ प्रमुख समाचारमा आउँथ्यो “फलाना ठाउँमा भिडन्त, यतिको मृत्यु,यति घाइते’ अनि पूरा समाचारमा नाम आउँदा मर्नेमा बिक,सुनार,परियार, नेपाली छुट्दैनथे । नामको बीचमा माया,कुमारी भएकाहरु पनि छुट्थेनन् । त्यही गुलेलीले चराजस्तै खसालिने तिनै थिए,त्यही सिनो जस्तै घिसारिनेमा पनि तिनै थिए ।
हिजो माओवादीको स्थायी समिति बैठकले शीर्ष नेताका नाम पारित गरेछन् । हिजै साँझ पुरै लिस्ट हेरेँ, फेरि हेरेँ तर कुनै बिक,परियार, नेपाली,सुनारहरु देखिएनन् । सप्पै मै जस्ता बाख्रे अनुहार परेका, छुच्चा र सिनो बेचुवा मात्रै देखेँ । नामको बीचमा मायाँ, कुमारी हुने पनि मुश्किलले एउटै देखेँ । सायद चरा झैं खस्न र सिनो झैं घिसारिनबाट बाँचेका ती नामहरु अहिले साउदी, कतार, कुवेत, दुबई, मलेसियाबाट फर्कने बाकसमा टाँसिएका होलान् ।
आखिर टिकै लगाउनु त रहेछ, त्यसमा पनि दलितलाई लगाउँदा निधार छुनुपर्ने भएकाले छुटे होलान् । छुनै नमिले पनि कम्तीमा एक जना बिक, सुनार, परियार, नेपाली, पोडे, चमारको हातमा टीका राखिदिएको भए उनीहरूले आफैं निधार रंग्याउँथे नि ! सिंहदरबार छिरेपछि उपल्लो जातका कमरेडहरुले त्यो पनि बिर्सेछन् ।
डियर कमरेड, प्रकाश सपुतको पहिलो ‘पीर’ युट्युबबाट हटे पनि मोबाइल ग्यालरीमा सुरक्षित छ । हेक्का राखौं है !
टिप्पणीहरू