ठगी मुद्दाका दुई फरार प्रतिवादी समातिए
ठगी मुद्दाका दुई फरार प्रतिवादी समातिएका छन् । जिल्ला नुवाकोट सूर्यगढी गाउँपालिका-४ कानथुम घर भई हाल काठमाडौं महानगरपालिका-८ पाँगा बस्ने ५६ वर्षीय अरुण गुरुङ र जिल्ला गोर्खा भीमेश्वर गाउँपालिका-९ बोर्लाङ घर भई हाल चन्द्रागिरी नगरपालिका-७ पुरानो नैकाप बस्ने ३७ वर्षीय महेश भट्ट समातिएका हुन् ।
उनीहरुले प्रहरी बृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग तीन लाख रुपैयाँ मागेको र उक्त रमकमध्ये एक लाख रुपैयाँ लिई फरार भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरेशले दिएको उजुरीको आधारमा उनीहरुलाई खसीबजारबाट हिजो नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अरुणको साथबाट पचहत्तर हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ । यसैगरी महेशको साथबाट पच्चीस हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२१ देहाय २४९ ठगी गर्न नहुने कसूरमा काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको कीर्तिपुर प्रहरीले बताएको छ ।
टिप्पणीहरू