डलर साट्ने बहानामा शृङ्खलाबद्द ठगी गर्ने यी दुई जना
सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी रकम ठगी गर्ने दुई जना समातिएका छन् । जिल्ला सिन्धुपाल्ञ्चोक बाह्रबिसे नगरपालिका-३ थला डाँडा घर भई काठमाडौं महानगरपालिका बौद्द आरुबारी बस्ने ३२ वर्षीय समिर भन्ने सन्जय लामा र ललितपुर बस्ने ३१ वर्षीय विष्णु तामाङलाई प्रहरीले हिजो टोखाबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुले टोखा,बौद्द, साँखु,कपन लयगायतका क्षेत्रमा श्रृखलाबद्द डलर साट्ने प्रलोभनमा विभिन्न व्यक्तिहरुको रकम ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । उनीहरुले पीडित व्यक्तिलाई पटक-पटक फोनमार्फत सम्पर्क गरेर आफूहरुसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने प्रलोभन दिने गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार उनीहरुले १ र ५० डलर दरका अमेरिकी मुद्रा देखाएर विश्वासमा पारी सटही गर्ने प्रलोभनमा उपत्यकाका साँघुरा गल्ली,पातलो मानववस्ती र जंगल आसपासका स्थानमा बोलाएर डलर भन्दै रुमालमा पोको पारेर ५, १० र २० दरका नेपाली नोटको बिटो दिई फरार हुने गरेको पाइएको छ ।
पीडितले दिएको उजुरीको आधारमा हुलियाको स्केच बनाई प्रहरीले गरेको अनुसन्धानबाट उनीहरु पक्राउ परेका हुन् । दुवैजनालाई नियन्त्रणमा लिएर ठगी एवं विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानका निम्ति प्रहरी बृत्त बौद्द पठाइएको प्रहरीले बताएकाे छ ।
टिप्पणीहरू