चुनाव पर्यवेक्षण गर्न चाहनेलाई बाटो खुल्दै
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरुसंग आवेदन मागिएको हो ।
आयोगले आज सूचना जारी गरेर इच्छुक राष्ट्रिय संस्थाहरुलाई १५ दिनभित्र पर्यवेक्षण अनुमतिका लागि कागजात पेश गर्न भनेको छ ।
आयोगले भनेको छ,‘निर्वाचन पर्यवेक्षण निर्देशिका,२०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमा रहेको राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षण अनुमति दिने प्रक्रियाबमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
आवेदन दिँदा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमिति पदाधिकारीहरुको विवरण,राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेश गर्नुपर्नेछ ।
त्यस्तै, पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार गरेको ब्रोसर,पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सोको प्रति, पहिले निर्वाचन पर्यवेक्षण गरेको भए सो बुझाएको प्रमाण पनि पेश गर्न भनिएको छ ।
साथै, निर्वाचनसम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएका, यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्थालाई अनुमति नदिइने आयोगले स्पष्ट पारेको छ ।

टिप्पणीहरू