तामझाम र तडकभडक सहित तीज मनाउने नपाइने
जिल्ला प्रशासन कार्यालय,झापाले तामझामपूर्ण, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम आयोजना गरेमा कारबाहीको चेतावनी दिएको छ ।
हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गरेको उल्लेख गर्दै कार्यालयले अनावश्यक तामझाम, तडकभडक कार्यक्रम गर्ने गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
कार्यालयले हिजो सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धनबाहेक कुनै पनि खालका खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको छ ।
सामाजिक व्यवहार (सुधार) ऐन,२०३३ र सामाजिक व्यवहार (सुधार) नियमावलीले धार्मिक,सामाजिक तथा सांस्कृतिक पर्वहरु व्यवस्थित र मर्यादित तरिकाले मनाउनुपर्ने उल्लेख गरेकाले सोहीअनुसार गर्न कार्यालयले भनेको छ ।
पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै लैजानुपर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
साथै,उनले राजनीतिक दल,नागरिक समाज, पेशागत संघसंस्था, सञ्चारकर्मी र महिला सञ्जाललाई संस्कृतिमा निरन्तरता दिन आफ्नो ठाँउबाट सक्दो सहयोग निम्ति अनुरोध गरेका छन् ।
टिप्पणीहरू