लागुऔषधका कुख्यात कारोबारी कवाडी बम फेरि पक्राउ
‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै’ भनेजस्तो उमेरले चार दशक कटिसक्दा पनि ‘नानीदेखि लागेको बानी नछाड्ने’ बेशीसहर -७ का वडाध्यक्षका दाइ ‘कवाडी बमे’ नामले परिचित बमबहादुर बस्नेत लागुऔषध कारोबारको आरोपमा फेरि पक्राउ परेका छन् ।
१० दिन अघिमात्र जिल्ला प्रहरी कार्यालय लमजुङमा “लिमा वन” को जिम्मा सम्हालेका प्रकाश श्रीमलले गत बुधबार पत्रकार भेटघाटमार्फत आफ्नो मुख्य नौ योजना सार्वजनिक गरेका थिए । जसमा बलात्कार,हत्या हिंसा,लागुऔषध ओसारपसार तथा बिक्री बितरण,फरार अभियुक्तलगायत अन्य अपराध नियन्त्रण र न्यूनीकरणमा बिशेष जोड दिने भनिएको छ । त्यसको हप्ता दिन नपुग्दै पुराना र नयाँ दुई जना लागुऔषध कारोबारी समातिएका हुन् ।
गतवर्षको अन्तिमतिर कास्की कारागारबाट छुट्दा बमेले कारागार प्रमुख काजिमान सुनारसामु अब नयाँ जिन्दगी शुरु गर्ने र यस्तो कुलतमा नफस्ने वाचा गरेका थिए । तर, ‘बिरालो काशी जाँदैमा मुसा खान छोड्छ र !’ भनेझैं दुई बच्चा र श्रीमतीसहित बेनपा -८ मा कवाडी संकलन केन्द्र सन्चालक बमे र अर्का एक जना जिल्लाका घुमुवा हवल्दार थमन गुरुङको सुराकमा ३ सय ११ एम्पुल लागुऔषध पक्राउ परे ।

०६७ सालदेखि हालसम्म आधा दर्जन मुद्दा खेपेका बमे ५/६ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् । पछिल्लो समय उनको हर्कत शंकास्पद देखिएपछि प्रहरीले पिछा गरेको थियो । यही क्रममा उनको कोठामा छापा मार्दा २ मिलिग्रामको डाइजेपाम, एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको इन्स्पेक्टर विष्णु बिकले जनाएका छन् ।
बमे सुत्ने कोठामा झुन्डाएको रेनकोटभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागुऔषध भेटिएको हो । इन्स्पेक्टर बिकले भने, ‘उनीसँगै पक्राउ परेका मर्स्याङ्दी -३ मा ठेक्कापट्टा गर्ने २९ बर्षका दोर्जे लामाको साथबाट २ मिलिग्रामको डाइजेपाम, ९० थान एम्पुल, फेनरगन ८९ थान र दुई थान मोबाइल समेत बरामद गरिएको छ ।’
लामाले घरमै लागूऔषध लुकाई छिपाइ बिक्री गर्दै आएको सूचनाका आधारमा कोठा खानतलासी गर्दा कपडा राख्ने ठूलो झोलाभित्र कपडाको बीचमा पहेंलो प्लाष्टिक बेरेर राखेको अवस्थामा ति लागूऔषध फेला पारेको इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी गराए । जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाउने तयारी भैरहेको डिएसपी श्रीमलले जनआस्थालाई बताए ।
-अञ्जनकुमार
टिप्पणीहरू