भुक्तानी फिर्ता पाएपछि बैंक अफ काठमाण्डू मख्ख

भुक्तानी फिर्ता पाएपछि बैंक अफ काठमाण्डू मख्ख

बैंक अफ काठमाण्डू लिमिटेडले ग्यारेन्टीबापतको रकम भुक्तानी गर्ने/गराउने क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

बैंकले नेपाल सरकार तथा मातहतका निकायहरु, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी विकास समितिलगायत अन्य निकायलाई धन्यवाद व्यक्त गरेको हो ।

त्यस्तै, गणतन्त्र चीनस्थित नेपाली दुतावास, नेपालस्थित गणतन्त्र चिनियाँ दुतावासप्रति पनि आभारी भएको बैंकले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनालाई दिएको एड्भान्स पेमेन्टबापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ हिजो फिर्ता पाएको उल्लेख गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले सहयोग गर्ने सबैप्रति आभारी रहेको बताएका छन् ।

आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा परिचालनका लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनका निम्ति चाइना कन्स्ट्रक्सन बैंकको काउण्टरमा ग्यारेन्टीमा एड्भान्स पेमेन्ट जारी गरिएको थियो ।

तर, ठेकेदार कम्पनीले आयोजना पूरा नगरी बिचमै छोडेर भागेपछि चाइना रेल्वेको तर्फबाट चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउण्टर ग्यारेन्टी दियो ।

यता, मेलम्ची आयोजना विकास समिति र ठेकेदार कम्पनी चाइना रेल्वे समुह–१५ बिच भएको विवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भयो ।

चाइना कन्सट्रक्शन बैंकबाट यस बैंकले पाउनुपर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्त बन्देजहरुको पालना गरी भुक्तानी गर्न चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दाको फैसला गत जुलाई २५ तारिखमा आयो ।

अदालतले बैंकको पक्षमा फैसला सुनाइदिएपछि बैंकले आफ्नो भुक्तानी रकम फिर्ता पाएको हो ।

टिप्पणीहरू