सहकारीविरुद्ध आन्दोलनमा उत्रन बहुमत पार्टीको अपिल

सहकारीविरुद्ध आन्दोलनमा उत्रन बहुमत पार्टीको अपिल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरि गठन भएको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले लघु वित्त तथा वित्तीय संस्थाको नाममा जनता लुट्ने सहकारीविरुद्ध आन्दोलन गर्न भएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले सहकारीको ज्यादतीका कारण कयौँ व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पीडितहरुलाई आन्दोलनमा उत्रिन अपिलसमेत गरेको छ ।

संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ द्वारा जारी विज्ञप्तिमा सहकारीको लुटको धन्दालाई वैधानिकता दिन सरकार नै बचाउमा लागेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सहकारीको ज्यादतीका विरुद्ध आवाज उठाउनेलाई ठाडै कारबाही गर्न गृह मन्त्रालयले भदौ १ गते प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनप्रति घोर भर्त्सना गर्दछौँ ।’

बहुमतले सहकारीले आफ्नो उद्देश्य विपरीत ठूला राजनीतिक दल र दलाल पुँजीपति वर्गको पुँजी वृद्धि गर्ने उद्देश्यले चर्को ब्याजदर र धरौटीमा जग्गा राख्न लगाई जनताको सम्पत्ति हडपिरहेको आरोप पनि लगाएको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिकाकी रेश्मा चौधरीले आत्महत्या गर्नु परेका कारण महँगो ब्याजदर रहेको जनाउँदै विज्ञप्तिमा सहकारीको यस्तो धन्दा रोक्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा संयोजक बाँस्तोलाले युनिक नेपाल लघु वित्तीय संस्था नामको सहकारीबाट लिएको ३ लाख २० हजार ऋण तिर्न नसकेर चौधरीले आफ्नै घरमा ताला लगाएकाले आत्महत्या गर्नुपरेको घटना स्मरणसमेत गराएको छ ।सहकारीमार्फत लिएको सबै ऋण माफी गरी धरौटी र बन्धकीमा राखिएका सबै सम्पत्ति फिर्ता गर्न बहुमतको माग छ ।

टिप्पणीहरू