आफै आफै जुध्नमा पत्रकार पनि के कम र !
समाचार लेख्न छोडेर पत्रकारहरु आपसमा भिड्न थालेपछि पत्रकार महासंघ दार्चुलामा गाइजात्रा देखिएको छ । नेकपा एमाले सम्वध्द प्रेस चौतारीभित्रको आन्तरिक विवादका कारण महासंघ जिल्ला शाखामा लफडा चर्किएको हो ।
लफडा बढ्दै जाँदा एकले अर्कालाई कारवाही गर्नेदेखि समानान्तर महासंघ बनाउनेसम्मका हर्कत भएको छ भने विशेष अधिवेशन बोलाएर अर्को कमिटी घोषणा गरिएको छ । चौतारीबाट महासंघको जिल्ला अध्यक्ष जितेका कृष्णसिंह धामीलाई विस्थापित गर्न चौतारीकै अर्को पक्षले षड्यन्त्र गरेको आरोप पनि छ ।
२०७८ चैत दोस्रो साता महासंघको जिल्ला कार्यसमिति बैठकले अध्यक्ष धामीले नियमित बैठक राख्न आनाकानी गरेको,विगतका निर्णय कार्यान्वयन नगरेको र अन्य पदाधिकारीसँग समन्वय नगरेको जस्ता आरोप लगाउँदै उपाध्यक्ष सन्तोष सिंह कोट्टारी,सचिव गगन विष्ट,सहसचिव ईश्वरी बुढाथोकी, सदस्यहरु उदपसिंह धामी,मानसिंह कुँवर,जनकराज भट्ट र पुष्करराम लोहारले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिने सबै ७ जना प्रेस चौतारीमा आवध्द छन् ।
अध्यक्षमाथि दबाब बढाउन एकैचोटी ७ जनाले राजीनामा दिए पनि लामो समयसम्म यसबारे कार्यसमितिमा कुनै छलफल नभएपछि जिल्लास्थित प्रेस चौतारी,प्रेस युनियन र प्रेस सेन्टर नेतृत्वले २०७९ जेठ १४ गते तत्काल विशेष साधारणसभा राखेर राजीनामाको विषयमा छलफल गरी समाधान खोज्न विज्ञप्तिमार्फत माग गरेको थियो । विज्ञप्तिमा अध्यक्ष वा कुनै पनि पदाधिकारीको राजीनामाको माग गरिएको छैन भने अविश्वास प्रस्ताव ल्याउने वा नयाँ कार्यसमिति चयनबारे पनि केही भनिएको छैन ।
२०७९ जेठ २१ गते राजीनामा दिएबाहेकका पदाधिकारीसहित कार्यसमिति बैठक बसे पनि ठोस निर्णय नगरेपछि प्रेस युनियनबाट कार्यसमितिमा निर्वाचित सदस्यहरु दमन्ती जोशी र विशन सिंह बुढाथोकीले पनि राजीनामा दिए । लगत्तै जेठ २४ गते महासंघ विधानको व्यवस्थाअनुसार विशेष साधारणसभाको माग गर्दै ३४ जना सदस्यले हस्ताक्षरसहित जिल्ला अध्यक्षसमक्ष लिखित माग प्रस्तुत गरे । त्यसमा तीनवटा संगठन र राजीनामा दिएका पदाधिकारीहरुले पनि सहमति जनाएका थिए ।
“अध्यक्ष धामीले राजीनामा दिएका महासंघका सदस्य उदपसिंह धामीलाई प्रेस चौतारीको सामूहिक ग्रुपमा अश्लील र सामाजिक मर्यादा विपरीत गालीगलौज गरेपछि महासंघको कलह थप चर्किएको हो ।”
विशेष साधारणसभामा निश्चित एजेण्डामा मात्रै छलफल गरिने विधानको व्यवस्था भएकोले अध्यक्षसहित जिल्ला नेतृत्वको कार्यसम्पादन भूमिकाको समीक्षा गर्ने,पेश गरिएको राजीनामाबारे छलफल गर्ने र महासंघलाई प्रभावकारी र थप क्रियाशील बनाउनेबारे छलफल गर्न माग गरिएको थियो । तर,अध्यक्ष धामीसहितका बाँकी पदाधिकारीहरु उक्त माग पूरा गर्न तयार भएनन् ।
बताइएअनुसार अध्यक्ष धामीले राजीनामा दिएका महासंघका सदस्य उदपसिंह धामीलाई प्रेस चौतारीको सामूहिक ग्रुपमा अश्लील र सामाजिक मर्यादा विपरीत गालीगलौज गरेपछि महासंघको कलह थप चर्किएको हो । लगत्तै महासंघको आन्तरिक विवादबारे १४ बुँदे भनाईसहित अध्यक्ष धामीले अध्यक्ष पदबाट र महासंघको साधारण सदस्यसमेत नरहने गरी सदस्यता त्यागको घोषणा गरेका थिए ।
उपाध्यक्षसहित ९ जनाले राजीनामा दिएको र अध्यक्ष स्वयंले समेत राजीनामा घोषणा गरेको अवस्थामा अन्यौलता हटाउन विशेष साधारणसभा माग गर्ने पक्षले २०७९ असार २९ गते समन्वय बैठक राखेर १५ दिने सूचनासहित साउन १४ गतेका लागि विशेष साधारणसभाको मिति निर्धारण गर्यो । महासंघको सुदूरपश्चिम प्रदेश समितिले साउन १२ गते सर्कुलर पठाएर पाँच बुँदे निर्देशनसहित साधारणसभा स्थगित गर्न निर्देशन दिएपछि १४ गतेको घोषित कार्यक्रम स्थगित गरियो ।
प्रदेशको सर्कुलरअनुसार दुबै पक्षको सहमतिमा भदौ ४ गते विशेष साधारणसभा आयोजना गर्ने सहमति र निर्णय भयो । सोहीअनुसार १५ दिने सूचना जारी गरियो । प्रदेश समितिका अध्यक्ष,उपाध्यक्ष, महासचिव,सचिव, कोषाध्यक्षसहितको उपस्थितिमा ४ गते विशेष साधारणसभामा दुबै पक्षले उठाउँदै आएका विषयमा ८ घण्टासम्म घनिभूत छलफल गरी सहमतिका साथ जाने समझदारी तोड्दै खुलासत्रको छलफलमा सहभागी भएका शाखा अध्यक्ष कृष्णसिंह धामीले बन्दसत्रको माइन्युटमा हस्ताक्षर गर्न मानेनन् ।
बन्दसत्रले अध्यक्ष पदमा आफ्नो निरन्तरताको सुनिश्चितता गर्ने भएमात्रै सहभागिता जनाउने बार्गेनिङ्ग गरेका उनले हस्ताक्षर गर्न र बन्दसत्रको थप छलफलमा भाग लिन नमानेको बताइएको छ । उनीसहित नरेन्द्र सिंह कार्की र रमेश सिंह खत्री बन्दसत्रबाट बाहिरिए पनि बाँकी ४९ जनाको उपस्थितिमा अग्रज पत्रकार भोजराज जोशीको संयोजकत्वमा पत्रकार कलराज जोशी र कपिलदेव भट्ट सदस्य रहेको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरी निर्धारित तीन एजेण्डामा छलफल गरेर अध्यक्षसहित सिंगो कार्यसमिति नै असफल भएको निष्कर्ष निकालेपछि सर्वसम्मत रुपमा नयाँ नेतृत्वको चयन गरेको छ ।
यता,निवर्तमान अध्यक्ष धामीले भने विशेष साधारणसभाले गरेको निर्णय नमान्ने सार्वजनिक घोषणा गरेका छन् । तर,माइन्युटमा फरक मत भने राखेका छैनन् । आफ्नो नेतृत्वको निरन्तरताको दावीसहित उनले समानान्तर समिति सञ्चालनको अभ्यास गरिरहेको जिल्ला शाखाका एक सदस्यले जानकारी दिए ।
टिप्पणीहरू