दुई स्वतन्त्र मेयर हर्क र बालेन फेरि जिस्किन थाले
सामाजिक सञ्जालमा एक-आपसमा कटाक्षपूर्ण टिप्पणी गरिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गवीच फेरि जुहारी शुरु भएको छ ।
काठमाडौँमा फोहोर व्यवस्थापनको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत जुधिरहेका दुई मेयर आज त्यही प्रसङ्गमा आमनेसामने भएका हुन् । साम्पाङ्गले केही बेरअघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘काठमाडौंको फोहोर उठाइसके ?’ भनेर व्यंग्यात्मक प्रश्न गरेका थिए ।
त्यसको जवाफमा काठमाण्डौबाट झटारो गयो, ‘फोहोर त उठिरहनेछ,बरु ढुङ्गा उठाउने भए आउनुहोस्, अहिले डोजरले अनाधिकृत संरचना हटाइरहेको छ,तपाईंलाई सित्तैमा उठाउन दिउँला ।’
यसअघि धरानका मेयर साम्पाङ्गले काठमाडौंमा फोहोरको दुर्गति देखेर श्रमदान गर्न मन लागेको टिप्पणी गरेका थिए । साथै उनले काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंङ्गुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि आफ्नै शहर (धरान) सफा भएको बताउँदै साहमाथि कटाक्ष गरेका थिए ।
हाल मेयर साह राजधानीका अनाधिकृत संरचना हटाउनमा व्यस्त छन् भने सदाबहार हर्क बिरुवा सार्न कोदालो बोकेर हिंडिरहेका छन् ।
टिप्पणीहरू