पाल्पाका अशोक शाहीहरूले किन छाडे ?

पाल्पाका अशोक शाहीहरूले किन छाडे ?

मानसिं बुढा

म उनलाई चालिसको दशकदेखि क्रियाशील कम्युनिष्ट नेताको रूपमा चिन्छु । हामी पूर्वी र मध्य पाल्पाका मगर बाहुल्य बस्तीमा कम्युनिष्ट पार्टीको संगठन निर्माणमा खटिइरहेका बखत पञ्चायतकालमै पत्रकार शम्भु श्रेष्ठ र अशोकशाहीले निर्वाचनमार्फत तानसेनमा स्थानीय जनताको मत जित्ने कोशिश गरेका थिए । पार्टी नेता गोपाल शाक्य, सिद्धिनाथ ज्ञवाली, जीवराज आश्रित, केपी अ‍ोली, बिष्णु पौडेललगायत नेता पाल्पा तानसेन पुग्दा आश्रय लिने घर हो शाहीको । कांग्रेसका वीपी, गणेशमान, किसुनजी, गिरीजालगायत नेता बैकुण्ठध्वज राजलवटको घरमा आफूलाई सुरक्षित ठान्थे ।

२००७ सालमै नगरपालिका घोषित नेपालकै तेस्रो नगरपालिका तानसेनमा २०५४ र २०७४ दुवै पटक उल्लेख्य मतान्तरमा मेयर निर्वाचित अशोक शाहीलाई २०७९ मा उम्मेदवार बनाउने भनेर शीर्षतहबाट वचन दिइए पनि स्थानीय नेतृत्वले उपेक्षा गरेको थियो । त्यसो त २०७४ मा समेत अन्तिममा मात्र उनले टिकट पाउने निश्चित भएको हो ।

टिकट नपाए पनि नेकपा (एमाले) मै रहेका शाहीलाई तत्काल नेकपा (एस)मा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न अफर नआएको होइन तर २०३६÷३७ सालदेखि दुःख गरेर बनाएको संगठनको मायाले आफू एमालेमै रहेको बताउने उनी र २०७४ मा निर्वाचित उपमेयर लक्ष्मी पाठकलगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै भदौ ४ गते भगवती जात्राको दिन शनिबारदेखि नेकपा (एस) मा प्रवेश गरेका छन् ।

लामो समय अपमानबोध गरेर पनि मौन रहेका अशोक शाहीलगायतले एमाले परित्याग गर्नुपर्ने कारणमा प्रदेश तहको संगठनमा रहेको आफूलाई बैठकमा नबोलाउने, कुनै जिम्मेवारी नदिने अनि बाहिर कार्यकर्तामाझ ऊ आएन भनेर उल्टै फत्तुर लगाउने केही नेताको व्यवहारले आजित भएको बताएका थिए ।

त्यसो त मत नमिल्ने इमान्दार नेता, कार्यकर्तालाई जिल्ला कमिटीमै किनारा लगाउने प्रवृत्ति अन्यत्र पनि बढ्दो छ । गुटमा लागेका चाकडीबाज र दलालहरूको बिगबिगी, नागरिकता विधेयक, एमसिसी, एसपिपीलगायत सवालमा समेत नेतृत्व तहबाटै दोहोरो चरित्र प्रदर्शन गरिएको र नीति–सिद्धान्तभन्दा पार्टीमा गुट हाबी भएकाले आफूहरूले एमाले परित्याग गर्नुपरेको शाहीले शुभचिन्तकहरूसँग प्रष्ट पार्ने गरेका छन् ।

उनलाई दशकौंदेखि आबद्ध संगठनबाट बाहिरिने निर्णय गर्दा सहज भएन ? सोध्दा भने, ‘दुःख लागेको छ, २०३६÷३७ देखि खटेको पार्टी परित्याग गर्नुपर्दा तर नेतृत्वमा रहनेहरू सुध्रिएनन्, इमान्दार कार्यकर्तालाई यो वा त्यो बहानामा किनारा लगाएर आसेपासे र गुटलाई संरक्षण गर्ने प्रवृत्ति हटेन, हट्ने छाँट देखिएन ।’ शाहीले एमालेबाट बाहिरिनुको कारण बताए– प्राप्त उपलब्धि जगेर्ना गर्नुपर्छ अनि कम्युनिष्ट आन्दोलनलाई जोगाउनुपर्छ भनेरै विद्रोह गरेका हौँ ।

शाही र लक्ष्मी पाठकसँगै नेकपा (एमाले) बाट बाहिरिएकामा भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक, उमेश घिमिरेलगायत छन् ।

नेकपा (एमाले) मै रहेर बेथिति र विसंगतिविरुद्ध आवाज उठाउन चाहे पनि दलबहादुर राना, बिष्णु पौडेल, शंकर पोखरेल, केपी ओलीलगायत शीर्ष नेतृत्व तहबाट समेत आफूहरूको गुनासोप्रति बेवास्ता गरिएको उनीहरूले जनाएका छन् । एक कार्यक्रमबीच शाही, पाठकलगायत नेतालाई नेकपा(एस) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा स्वागत गरेका छन् ।

उता नेकपा(एमाले) का स्थानीयदेखि पोलिटव्यूरोमा रहेका ठाकुर गैरेलगायत यी नेतालाई फर्काउन खटिएका छन् । गैरेले आफूलाई संघीय निर्वाचनमा सांसद जित्न सहज होस् भनेर जिल्ला अध्यक्षमा निर्वाचित धनेन्द्र घिमिरेलाई हार्ने पक्का हुँदाहुँदै तानसेनको मेयरमा उम्मेदवार बन्न उकासेका थिए । शाही, पाठकलगायत बाहिरिएपछि पाल्पामा नेकपा (एमाले)लाई प्रदेश र संघको चुनाव झनै पेचिलो बन्न पुगेको बताइन्छ ।

टिप्पणीहरू