‘ओलीको संसद विघटनले संघीयतामा धक्का’
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएपनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन हुँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाएका छन् । आज काठमाडौँमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसमा बोल्दै उनले संविधान कार्यान्वयनमा एमालेको भूमिकाको आलोचना गरे ।
नेता सिंहले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानून समयमा नबनाएका कारण संघीयतालाई संविधानको भावनाअनुसार जनताले महसुस गर्ने गरी अघि बढाउन नसकेको दाबी पनि गरे । ओली नेतृत्वको सरकारले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेका कारण संघीयता जोगाउन गाह्रो परेको उनको आरोप छ ।
नेता सिंहले भने, ‘संघीय कानून समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महसुस गर्ने गरेर काम गर्नुपर्ने ठाउँमा संसदलाई दुई-दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेका छौँ ।’
यसअघि काँग्रेसले इमान्दारितापूर्ण निर्वाचन गरेको दाबी गर्दै आगामी निर्वाचन पनि धाँधलीरहित रहने उनको भनाइ छ । नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।
टिप्पणीहरू