गठबन्धनको कार्यदलमा दलहरुका दावीमाथि आज बिस्तृतमा कुरा हुने
मंसिरको चुनावका लागि सीट भागबण्डा मिलाउन गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको आज पनि बैठक बस्दैछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सीटमा भागबण्डा मिलाउन सकस परिरहेका बेला हिजोको कार्यदल बैठकमा दलहरुले औपचारिकरुपमा आ-आफ्नो दावी पेश गरेपछि त्यसबारे विस्तृत छलफल गर्न लागिएको हो ।
सीट भागबण्डा मिलाउन नसकेको भन्दै शीर्ष नेतालाई जिम्मा लगाएको कार्यदलले पुन: जिम्मेवारी पाएपछि हिजो बैठक बसेको थियो । बैठकमा १६५ प्रत्यक्ष निर्वाचित सीटमध्ये नेपाली काँग्रेस एक्लैले एक सय क्षेत्रमा आफ्नो दावी पेश गरेको छ । त्यस्तै, माओवादी केन्द्रले ६५, एकीकृत समाजवादीले ३५ देखि ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३० देखि ३५ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा आफ्नो दावी राखेका छन् ।
सबै दलका दावी जोड्दा २३० भन्दा बढी भएपछि थप छलफल गरेर टुंगोमा पुग्ने भन्दै हिजो त्यत्तिकै उठेका नेताहरु आज अपराह्न साढे चार बजे फेरि बस्न लागेका हुन् । ‘अहिलेको प्रारम्भिक दावी हो । कम्तिमा पनि प्रष्ट कुरा आएको छ अब खुला छलफल गरेर निर्णयमा पुग्छौँ’, कार्यदलका एक सदस्यले भने । जनमोर्चाको बाहेक अरु सबै दलका दावी स्वाभाविक नभएको पनि उनले बताए ।
उनका अनुसार कांग्रेस ८०, माओवादी केन्द्र ४५, समाजवादी २५ र जसपा १५ वरपर सहमति हुने सम्भावना छ । यहिमध्येबाट जनमोर्चा,बाबुराम भट्टराईको नेसपा र वामदेव गौतमको एकता राष्ट्रिय अभियान पनि समेटिनेछ ।
टिप्पणीहरू