विदेशीले आजदेखि नेपालको बिदेशनीति बनाइदिने ?

विदेशीले आजदेखि नेपालको बिदेशनीति बनाइदिने ?

नेपालको राजनीतिमा विदेशी हस्तक्षेपबारे टिप्पणी हुँदा एउटा भनाई चर्चामा छ – दिल्लीमा पानी पर्दा काठमाडौँमा छाता ओढ्छन् नेपाली नेताहरु । सत्तामा पुगेर विदेशीसामु लम्पसार पर्ने नेपाली राजनीतिको प्रवृत्तिमाथिको यो चोटिलो ब्यङ्ग्य पनि हो । हो,जब-जब शासकहरुका सत्ता हल्लिन थाल्छ तब विदेशीलाई गुहार्ने लम्पसारवादी चेतना नेताहरुमा छ ।

तर, निरङ्कुश राजाहरुले समेत मुलुकको सुरक्षा र परराष्ट्र नीतिमा बैदेशिक हस्तक्षेप अस्वीकार गरेको इतिहास मेटाउँदै देशको विदेशनीति बनाउन विदेशीलाई ‘गुहारेको’ भन्दा पत्यार नलाग्न सक्छ । तर, बिडम्बना ! स्वाभिमानी नागरिकले कल्पनासम्म गर्न नसक्ने यस्ता अभ्यास हुँदैछ भनिंदैछ ।

सन्दर्भ हो – काठमाडौँमा आज बेलुकादेखि आयोजना हुन लागेको नेपाल अनुसन्धान परिषदको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन । जसको आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

तर,देशको कार्यकारी प्रमुखले उदघाटन गर्न लागेको उक्त संस्था छिमेकी मुलुक भारतको सत्तारुढ पार्टी बिजेपीनिकट आरएसएस नामक एउटा राजनीतिक संस्थासँग आवद्द रहेको छ ।

भारतीय जनता पार्टी (भाजपा) को भगिनी संगठनका रुपमा क्रियाशील आरएसएसको नेपालमा प्रचार गर्ने जिम्मा पाएको अनुसन्धान परिषद संयोजक हुन् दिपक अधिकारी । सम्मेलनको तारतम्य उनैले मिलाएका हुन् । सम्मेलनमा सहभागी हुन आउने ४० वर्षमुनिका करिब ७० जनामध्ये ३८ जना भारतीय छन् ।

प्रधानमन्त्रीले आज उदघाटन गर्ने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने कार्यक्रम तय भएको छ । यस्ता कार्यक्रम उत्तरी छिमेकीले पनि केपी ओलीको पालामा विचारधाराको विकास भन्दै आयोजना गरेको थियो ।

“प्रधानमन्त्री एउटा विदेशी संस्थाको त्यस्तो सम्मेलनमा जाँदै हुनुहुन्छ, जसले भारतको एउटा राजनीतिक दलको प्रचारप्रसार गर्ने,उसको हितमा काम गर्ने र नेपालको सूचना उता पुर्याउने जिम्मा पाएको छ ।”

राष्ट्रवादका नाममा भोट बटुलेर सत्तामा पुग्ने अनि विदेशीको सेवा गर्ने राजनीतिको विकृत र भद्दा नमूना विगतमा पनि देखिएको हो । अहिले नेपालका नेताहरु विदेश नीति नै अरुले बनाइदिनुपर्ने तहमा पुगेका हुन् ? भाजपाको भगिनी संस्थाका रुपमा रहेको संस्थाको सम्मेलनमा देशको प्रधानमन्त्री जाने कुराले के सन्देश दिन्छ ? प्रष्ट छ -अरुको चासो सम्बोधन गर्ने र आफ्नो सत्ता सुरक्षित पार्ने ।

इतिहासदेखि नै नेपाललाई आफ्रनो सुरक्षा छातामा राख्न अनेक प्रयत्न र दाउपेच गर्दै आएको भारतलाई खुशी पार्ने । आजको यो कार्यक्रमलाई खासमा सन्दिप रानाको समेत भरथेग रहेको बताइन्छ जो बिजेपीका पूर्व अध्यक्ष एवं हाल गृहमन्त्री अमित साहको पिए समूहमा थिए र अब पाल्पाबाट चुनाव लड्न खोज्दैछन् ।

इतिहास फर्केर हेर्दा भारत स्वतन्त्र भएदेखि नै नेपालको परराष्ट्र र सुरक्षा आफूले चलाउनुपर्ने चाहना उताको देखिन्छ । प्रत्यक्ष-परोक्ष रुपले नेपाली शासकसामु प्रस्ताव पनि आउने गरेका थिए । सन् १९९० मा पहिलोपल्ट भारतीय विदेशसचिव एसके सिंहले तत्कालीन समयमा राजा वीरेन्द्रलाई नेपालको जलस्रोतमाथिको अग्राधिकार दिन र आफ्नो सुरक्षा छातामा आउन लिखित प्रस्ताव नै गरेका थिए ।

त्यस्तै प्रस्ताव पछि ज्ञानेन्द्रलाई पनि मौखिकरुपमा आएको हो । गिरिजादेखि प्रचण्डसम्म र शेरबहादुर हुँदै केपी ओलीसम्मलाई पनि कुनै न कुनै रुपले त्यस्ता प्रस्ताव आएन होला भनेर पत्याउन सकिंदैन । तर,यो देशको स्वतन्त्रताका विरुद्ध घोषितरुपमा अहिलेसम्म कोही शासक र नेता गएका छैनन् ।

तर,अहिलेको चिन्ता प्रधानमन्त्री एउटा विदेशी संस्थाको त्यस्तो सम्मेलनमा जाँदै हुनुहुन्छ, जसले भारतको एउटा राजनीतिक दलको प्रचारप्रसार गर्ने,उसको हितमा काम गर्ने र नेपालको सूचना उता पुर्याउने जिम्मा पाएको छ । साच्चै राष्ट्रियताको मामिलामा कठोर हुने हो भने नेपालमा धार्मिकलगायत विविध गतिविधि सन्चालन गर्न रोक लगाउनुपर्ने अनेक सँस्था छन् ।

यसबारे सत्ता गठबन्धनको बैठकमा समेत कडिकडाउ कुरा उठेको बताइन्छ । भनिएअनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मेलनमा प्रधानमन्त्री र प्रचण्डको संलग्नतालाई लिएर जिज्ञासा राख्दा देउवाले आफू नजाने प्रष्ट बताउनुभएको थियो । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि यस्ता कार्यक्रममा जाँदा प्रधानमन्त्री होसियार हुनुपर्ने भनी सतर्क गराउनुभएको थियो । तर,प्रधानमन्त्री आज सम्मेलन उदघाटन गर्न जाने तयारीमा हुनुहुन्छ ।

टिप्पणीहरू