चिनियाँ प्रधानमन्त्री अर्को महिना नेपाल आउने सम्भावना

चिनियाँ प्रधानमन्त्री अर्को महिना नेपाल आउने सम्भावना

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ग अर्को महिना नेपाल आउने सम्भावना बढेको छ । चिनियाँ प्रधानमन्त्रीको भ्रमण गराउन दुवै देशका दूतावास सक्रिय रुपमा लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

दुई महिनापछि हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नेतृत्व परिवर्तन गर्दैछ । त्यसअघि बिदाई भेटका रुपमा लि छिमेक भ्रमणमा आउन लागेको अनुमान गरिएको छ ।

भ्रमणका क्रममा उनले नेपालको सपनाका रुपमा रहेको चिनियाँ रेल ल्याउने योजनालाई द्रुतगतिमा अघि बढाउन महत्वपूर्ण घोषणा गर्नसक्ने परराष्ट्र स्रोतले बताएको छ । तर,यसको विस्तृत विवरण भने आउन बाँकी छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काको अघिल्लो महिना छिन्ताओमा सम्पन्न मन्त्रीस्तरीय वार्तामा चिनियाँ पक्षले यसबारे सामान्य संकेत दिएको थियो । त्यसपछि दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावास भ्रमणको तयारीमा जुटेको बताइन्छ ।

यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला तत्कालीन समकक्षी वेन जियावाओ आठ घन्टाका लागि नेपाल आएका थिए । त्यसपछि नेपाल भ्रमण गर्ने लि खछ्याङ्ग दोस्रो चिनियाँ प्रधानमन्त्री हुनेछन् ।

टिप्पणीहरू