घलेगाउँको करणीमा जब श्रीमान बिकेनन्
गत बिहीवार लमजुङ जिल्ला अदालत परिसरमा क्वहोलासोथर गाउँपालिकाका गन्यमान्य सबैजसो घले गुरुङहरूको बाक्लो जमघट थियो । शुक्रबार र शनिबार जिल्ला न्यायाधीश शिवप्रसाद खनाल पोखरामा हुने दुईदिने कार्यक्रमको हतारोमा थिए । फैसला गर्नुपर्ने थियो घलेगाउँका अमन घले करणी काण्डको ।
०७८ वैशाख १४ गते बोलेरो जीप चालक अमन घलेले मस्र्याङ्दी गाउँपालिका– ९ स्थायी घर भई केही वर्षदेखि क्व्होलासोथर गाउँपालिका –२ घलेगाउँ बस्दै आएकी १६ वर्षीया एक बालिकालाई डर धम्कीसहित वैवाहिक लोभ देखाएर करणी गरे । दादा प्रकृतिका अमनको करणीबाट गर्भ बसेको दुई–तीन महिनासम्म पीडित ती बालिकाले अमनलाई एबोर्सन गर्न पटक–पटक आग्रह गरिन् ।
कि विवाह कि गर्भपतननिम्ति बालिकाले दबाब दिन थालेपछि अमनले सकेको गर भन्दै धम्क्याउन थाले । पीडित बालिका बोगटी थरकी । घले गुरुङले अन्य जातिको अस्तित्व स्वीकार गर्ने कुरै छैन । यसैबीच अमनले आफ्नै वर्गको युवतीसँग विवाह गरे । उता पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारमा सोधखोज चल्यो । बालिकाले अमनले यस्तो हालतमा पारेको बताइन् ।
तत्कालीन गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेको रोहवरमा कचहरी बस्यो । गाउँकै एक दलित युवालाई जिम्मा लगाउन खोजियो तर त्यो मान्न बालिका तयार भइनन् । उनले राइनास नगरपालिका घर भएकी दिदीलाई यो कुरा जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भयो ।
०७८ वैशाखको घटना जिल्ला प्रहरी कार्यालयमा असोज १२ गते आएर मात्रै दर्ता गरियो । मुद्दा दर्ता नगर्न माननीयदेखि गतिलै नेताहरूले प्रहरीलाई दबाब दिन थाले । तर, डिएसपी कृष्णबहादुर कार्कीले केस दर्ता गरे । पीडित बालिकाको बयानको आधारमा अमन घले पक्राउ परे ।
यससँगै बालिकासहित उनका बाबु खुसबहादुर बोगटीमाथि चर्को दबाब पर्न थाल्यो । खुसबहादुर पनि आफ्नो गाउँमा बात लागेर मस्र्याङ्दी –९ लामागाउँ छाडी भुजुङको भेंडीगोठ छिरेर सुन्दरबजार–७ पाउँदी माइती भई लामागाउँका सन्तलाल कतिला (नाम परिवर्तित) वैदेशिक रोजगारमा उतै भएका बेला चार सन्तानकी सीता श्रेष्ठलाई भगाएका थिए । श्रीमती र छोराछोरी साथमा हुँदाहुँदै खुसबहादुरले अर्काको घरबार बिगार्न लागे । खुसबहादुरले नेवार्नी उठाएर भुजुङको लेक बसेको केही वर्षपछि घलेगाउँ झरेका हुन् । तिनै नेवार्नीपट्टीकी छोरी थिइन् पीडित बालिका ।
घलेको आधिपत्य रहेको गाउँमा नेवार्नी भगाएर पसेका बोगटी परिवारलाई टिकिखान सजिलो थिएन । बालिकालाई अदालतमा होस्टायल गर्न लगाइयो । सरकारी वकिलसामु बालिकाले भनिन्, ‘घलेगाउँमा फुटबल प्रतियोगिता थियो । त्यहीं फुटबल खेल्न आएका थिए काठमाडौंका सुजन क्षेत्री । उनैले मलाई प्रलोभनमा पारी करणी गरे ।’ न्यायाधीश शिवप्रसाद खनालले पनि सोध्दा आँखाभरि आँशु पारेर बालिकाले सरकारी वकिलसामु दिएकै बयान दोहो¥याइन् ।
तर, उनले गरेको बयानमा कुन्नि किन हो सत्यता भेटिएन । प्रहरीमा परेको किटानी बयान मात्रै पर्याप्त आधार थिएन, बलात्कृत बालिकाबाट मंसिरमा जन्मिएको बच्चाको सक्कल हुबहु अमनकै थियो । राजनीतिक नेतृत्वले जतिसुकै दबाब र प्रभावमा पार्न खोजे पनि न्यायाधीशले न्याय मर्न दिएनन् । गत बिहीबार अमनले करणी कसुर ठहर भयो । फैसला सुन्न आएका गाउँले र कसुरदार अमन अदालतको फैसलापछि मेरो के गल्ती छ भी बम्किँदै थिए । न्यायाधीश सुनेको नसुनेझैँ गरी पोखरातिर लागे ।
– अञ्जनकुमार
टिप्पणीहरू