एमाले महासचिवले हात अघि बढाएपछि माओवादी सशंकित
आगामी निर्वाचनमा सफलता हात पार्ने उद्देश्यका साथ राजनीतिक दलहरु विभिन्न रणनीतिमा जुटेका छन् । विशेषगरी सत्तारुढ गठबन्धनलाई तितरबितर पार्ने र त्यसभित्रैको पार्टीलाई आफ्नो समूहमा समाहित गर्ने योजनाका साथ एमाले अघि बढेको बताइन्छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जे भनेपनि एमाले महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको लागि पहल गरेको भन्दै माओवादी नेताहरु सशंकित भएका हुन् । एक जना माओवादी नेताले भने, ‘हामीसँग कुरा भएको होइन । माधव नेपालको पार्टीसँग एकता वा कार्यगत एकताको निम्ति महासचिव शंकर पोखरेल आफैँ लागेका छन् । उनले झलनाथ खनाललाईसमेत भेटेर प्रस्ताव राखेको सुनेका छौं ।’
माधव नेपाल नेतृत्वको पार्टी सचिवालयका अन्य सदस्यहरुसँग एमाले नेताहरुको बारम्बारको भेटप्रति माओवादी नेताहरु पर्ख र हेरको रणनीतिमा बसेको देखिन्छ । अघिल्लो हप्ता शंकर पोखरेलले गरेको भेटघाट उद्धृत गर्दै स्रोतले भन्यो, ‘विगतमा जे भयो, भयो अब मिलौं भनेका छन् ।’
तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले केही दिनअघि गुल्मी पुगेर एकताको ‘च्याप्टर क्लोज्ड’ भनेको विषयलाई माओवादी नेताहरुले देखाउने र चपाउने दाँतको रुपमा लिएको बताइन्छ । ‘वचन दिनेले खनाललाई राष्ट्रपतिकै वचन दिएका छन् भन्ने सुनिएको छ । त्यसैले यसै हो भन्न गाह्रो छ ।’ उनीहरुले खनालले के के भनेर पार्टी राम्रोसँग चल्न नदिने र गठबन्धन पनि गर्न नहुने भन्दै आएकाले झलनाथप्रति धेरै शंका गरेका हुन् । त्यही भएर उनीहरू एकता समिति बनाई त्यसमा झलनाथलाई समेत राखेर समाजवादीलाई अन्त ढिम्किन नदिने पक्षमा देखिन्छन् ।
यसअघि बुधबार बसेको गठबन्धन बैठकमा कार्यदलका सदस्यहरुले आफूहरुले सिट भागबण्डाको बारेमा आवश्यक निर्णय गर्न नसक्ने निश्कर्ष निकालेका छन् । उनीहरुले उक्त कार्यको निम्ति शीर्ष नेताहरुलाई नै गुहारेका छन् ।
तर शीर्ष नेताहरुले भने केही दिनभित्र आफ्नो पार्टीमा सल्लाह गरेर अघि बढ्ने प्रारम्भिक निचोड निकालेको बताइन्छ । नेपाली काँग्रेसले यसअघि दाबी गर्दै आएको एक सय सिटमा सबैले असहमति जनाएका छन् । अरु दलका नेताले काँग्रेसलाई ७० देखि ७५ सिट हुनुपर्ने बताएका छन् । कार्यदलको बैठकमा माओवादीले सोझै नभने पनि ५५ र नेकपा एकीकृत समाजवादीका नेताहरुले २३ सिट मागेको काँग्रेसको बुझाइ छ ।
यता माधव नेपाललगायत नेतासँग छुट्टै बसेको बैठकमा माओवादी नेताहरुले नेकपाकै मोडलमा अघि बढ्ने सहमति गरेको बताइन्छ । उनीहरुबीच संयोजन समिति बनाएर अघि बढ्ने भनिएको हो । घोषणापत्र एउटै बनाइए पनि आगामी निर्वाचनमा समानुपातिकको निम्ति चुनाव चिन्ह फरकमा प्रतिस्पर्धा गर्ने निर्णय गरिएको माओवादी स्रोतले बताएको छ ।
टिप्पणीहरू